नेकपा-माओवादी अध्यक्ष मोहन वैद्य द्वारा तीन ठूला दलका नेतालाई गाउ टेक्न नदिने चेतावनी

जेठ दोस्रो साताभित्र चुनाव गर्ने गरी सरकार बनाउने छलफल भइरहेका बेला नेकपा-माओवादी अध्यक्ष मोहन वैद्यले तीन ठूला दलका नेतालाई गाउू टेक्न नदिने चेतावनी दिएका छन् । १८ औं ‘जनयुद्ध’ दिवसका अवसरमा मंगलबार राजधानीमा आयोजित चियापानमा वैद्यले एमाओवादी, कांग्रेस, एमालेलगायत दलले संविधानसभा चुनावको नौटंकी रचेर गाउँ पस्न खोजे टेक्न नदिने चेतावनी दिए । ‘एकीकृत माओवादी, कांग्रेस, एमालेलगायत दललाई गाउँ टेक्न दिंदैनौं, विचार गर्नु होस् संविधानसभा चुनावको नौटंकी नरच्नु होस्,’ उनको चेतावनी थियो, ‘हाम्राविरुद्ध षड्यन्त्र गरे खबरदार ।’
शान्ति सम्झौताविरुद्ध गएर जनयुद्धका सबै घटना पुनरावृत्ति गर्ने काम भइरहेको भन्दै उनले यदि त्यो भइरहे बन्दुक उठाउन आवश्यक हुने बताए । ‘बन्दुक उठाउनु पनि जनताको सार्वभौम अधिकार हो, हामीलाई दमन गर्ने काम भएमा त्यसको जवाफ त दिनैपर्ने हुन्छ,’ उनले भने ।
संसद्वादी पार्टीे असफल भएपछि एमाओवादीले आफ्नो उद्देश्य संसद्वादबाटै पूरा गर्दै गएको आरोप उनले लगाए । ‘संसद्वादी पार्टीले आफ्नो धारमा बगाउूदै ल्याएका छन्, त्यसकारण एमाओवादी असफल भएको छ,’ उनले भने । निकास संविधानसभा चुनाव नभएर गोलमेच सम्मेलन भएको उल्लेख गर्दै उनले फेरि संविधानसभा चुनाव भनेर जनतालाई झुक्याउन नहुने बताए ।
एमाओवादीको हेटौंडा महाधिवेशनले उल्टो छलाङ मारेको भन्दै उनले आफ्नो पार्टीले क्रान्तिप्रति कहिल्यै धोका नदिने बताए । ‘जनयुद्धका सहिद, बेपत्ता, घाइतेलगायत परिवारप्रति हामी इमानदार छौं, क्रान्तिको झन्डा कहिल्यै झुक्न दिंदैनौं, यो हाम्रो प्रतिबद्धता हो,’ उनले भने । एमाओवादी र आफ्नो पार्टीको महाधिवेशन केही समयको फरकमा भएको भन्दै उनले नेकपा- माओवादीले जनयुद्धको जगमा जनविद्रोहको स्पष्ट कार्यदिशा लिएको बताए । ‘राष्ट्रियता, जनजीविकाका सवालमा हामी स्पष्ट छौं,’ उनले भने ।
संविधानसभामार्फत एमाओवादीले विदेशीका अगाडि आत्मसमर्पणवादको बाटो लिएको भन्दै उनले त्यसपछि आफूहरू अलग पार्टी खोल्न बाध्य भएको बताए । एमाओवादीले राष्ट्रघाती सम्झौता गर्दै हिूडेको आरोप पनि उनले लगाए ।   
एमाओवादीलाई नवसंशोधनवादीको संज्ञा दिूदै उनले हेटौंडा महाधिवेशनबाट जनवादी क्रान्ति पूरा भएको भन्ने गलत सन्देश दिन खोजेको उनले बताए । ‘जनवादी क्रान्ति पूरा भएको छैन, हिजो जसलाई शत्रु भन्थे आज उनैको लाइनमा गएर जनवादी क्रान्ति सफल भएको भन्दै छन् यो सबैले बुझेका छन्,’ उनले भने । पुरानै प्रतिक्रिवादी शक्तिसूग मिलेर जनवादी क्रान्ति सफल भएको भन्नु गलत तर्क गरेको उनले बताए ।
संविधानसभा निर्वाचनका नाममा चार दल मात्र छलफल गर्दै हिँडेको भन्दै त्यो आफूहरूलाई मान्य नहुने उनले बताए । चार दलका हैकम नस्विकार्ने उनले बताए । चियापान समारोहमा मधेसी जनअधिकार फोरम अध्यक्ष उपेन्द्र यादवलगायत नेता उपस्थित थिए भने कांग्रेस र एमालेलगायत दलबाट कोही पनि गएका थिएनन् ।