भारत इलावादको महाकुम्भ मेला भर्न गएका एक नेपालीको लाश आएको छ भने दर्जनौँ तीर्थयात्री सम्पर्कबिहन छन्। मेला भर्न गएका रौतहट सखुअवा धमौरा गाविस-९ की ५५ वर्षीया घुर्नी देवीको तीन दिनअघि मृत्यु भएको हो।
इलाहावादको मेला गत आइतवार भएको भागदौडमा गम्भीर घाइते भएकी घुर्नी देवीको फर्किने क्रममा गोरखपुरमा मृत्यु भएको हो। मेलामा भएको भागदौडमा घुर्नीसँगै रहेकी काकी जलसिया देवीले उनलाई बाटोमा सामान्य उपचार गराएकी थिइन्। सामान्य उपचारले निको हुन नसक्दा गोरखपुर रेलवे स्टेशनमा मंगलवार दिउँसो मृत्यु भएको जलसिया देवीले बताइन्।
मृत्यु भएपछि गोरखपुरबाट एम्बुलेन्समा रक्सौल ल्याएर रक्सौल भन्सारमा विरामी भएको भनी उपचारको क्रममा वीरगंज ल्याएको मृतककी काकी जलसिया देवीले बताइन्। वीरगंज ल्याएपछि नेपाली एम्बुलेन्समा घर ल्याउन समस्या नभएको उनले बताइन्। मृतकलाई हिजै अन्तिम संस्कार गरिएको छ।
मृतक घुर्नी देवी करिब बीस वर्षदेखि माइतमा नै बस्दै आए पनि हजमिनिया-९ का श्रीमन् वासुदेव साहले किरिया बोकेका छन्। “नेपाल सरकारले कुम्भ मेलामा नेपालीको सम्पर्क र बासका साथै सुरक्षाको व्यवस्था गर्न सके यस्तो दुर्घटना हुनबाट नेपाली जोगिन सक्छन्” मृतकका भाइ साहले भने।
करिब दुई साताअघि सर्लाही सक्रौलका एक साधुले दुवैलाई कुम्भ मेला भर्न जाँदा सबै पापबाट मुक्त भई पुण्य प्राप्ति हुने प्रलोभन देखाई इलाहावाद लगेका थिए। गंगा, यमुना र सरस्वती नदीको संगमको रुपमा रहेको प्रसिद्ध तीर्थस्थलमा १२ वर्पपछि कुम्भ मेला लागेको हो।
मेलामा रौतहटबाट पनि हजारौ तीर्थयात्रु मेला भर्न गएकामा अहिलेसम्म दर्जनौँ सम्पर्कविहीन रहेका छन्। वरियारपुर ७ का सियाराम सहनी, सोजेन्दर सहनी, श्रीनारायण सहनी, भोजी सहनी, राम औतार सहनी सबैजना पत्नीसहित मेला भर्न गएकामा अहिलेसम्म फर्केका छैनन्।
यसैगरी मलाहीका सत्यनारायण सहनी, नारायण सहनी, बद्री सहनी, अच्छेलाल सहनी पनि सपत्नी इलाहावाद गएकामा सम्पर्कविहीन रहेको वरियारपुर ७ का दामोदर सहनीले बताएका छन्