पश्चिमी वायुको सक्रियताका कारण शुक्रबार रातिदेखि शनिबारसम्मै देशभर वर्षा भएको छ । शनिबार राति र आइतबार पनि पूर्वी नेपालमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसलाई मौसमविद्ले हिउँदे वर्षा भनेका छन् । महाशाखाका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार सुदूर र मध्यपश्चिममा बढी वर्षा भएको छ । वर्षासँगै चिसो बढेको छ । हिमाली जिल्लामा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित बनेको छ । श्रेष्ठका अनुसार डडेलधुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगु, मुस्ताङ, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङमा बाक्लो हिउू परेको छ ।
राजधानीमा शनिबार दिनभर पानी पर्यो । महाशाखाका अनुसार २४ घन्टामा राजधानीमा ७.८ मिलिमिटर वर्षा भएको छ । शुक्रबार राति ०.४ मिमि पानी परेको थियो ।
श्रेष्ठका अनुसार मध्य र पूर्वीक्षेत्रमा आइतबार पनि पानी पर्ने संकेत देखिएको छ । सुदूरपश्चि र पश्चिम भागमा भने आइतबार अपराह्नदेखि नै मौसममा सुधार आउने महाशाखाको अनुमान छ । ‘पूर्वी नेपालमा आइतबार पनि पानी पर्छ, सोमबारदेखि पूरै सुधार आउँछ,’ श्रेष्ठले कान्तिपुरसित भने । महाशाखाका अनुसार शनिबार सबैभन्दा बढी डडेलधुरा र दिपायलमा २०.४ मिमि वर्षा भएको छ ।
धनगढीमा १५.८, वीरेन्द्रनगरमा ७.९, नेपालगन्जमा १०.४, जुम्लामा १.६, दाङमा ७.२, पोखरामा १०.४ मिमि वर्षा भएको छ । त्यस्तै भैरहवामा १२.१, सिमरामा ८.५, ओखलढुंगामा ०.८, ताप्लेजुङमा ६, धनकुटामा १.७ र विराटनगरमा ४.३ मिमि वर्षा भएको छ । गत वर्षको फेब्रुअरीमा राजधानीमा ४१.५ मिमि पानी परेको थियो । फेबु्रअरीमा औशत १७.५ मिमि औशत वर्षा हुनुपर्छ ।