प्रधानन्यायाधीश खिलराज रेग्मी ‘ससर्त’ प्रधानमन्त्रीको पद नस्वीकार्ने मनस्थितिमा

प्रधानन्यायाधीश खिलराज रेग्मी ‘ससर्त’ प्रधानमन्त्रीको पद नस्वीकार्ने मनस्थितिमा पुगेका छन् ।
उनी निकट सर्वोच्च स्रोतका अनुसार दलहरूले तोकेको कार्यविधिअनुसार चुनावी सरकारको बागडोर सम्हाल्दा काम गर्न अप्ठ्यारो हुने भएकाले रेग्मीले सरकार चलाउनका लागि आफ्नै मापदण्डअनुसार चल्नुपर्ने अडान लिएका हुन् ।’देशमा आइपरेको संक्रमणका पार लगाउन न्यायिक नेतृत्व सक्षम पनि छ र तयार पनि छ,’ स्रोतले भन्यो, ‘तर राजनीतिक रूपमा कसैलाई मार्ग प्रशस्त गर्न र कसैलाई सत्ताबाट हटाउन प्रयोग हुने गोटीका रूपमा प्रधानन्यायाधीश जाने प्रश्न आउँदैन ।’
आफ्नो नेतृत्वको सरकारमा को को सहभागी हुने र त्यसले के कस्तो काम गर्ने भन्ने तय आफैंले गर्न पाउनुपर्ने रेग्मीको सर्त दलहरूले स्वीकार नगरे उनले कार्यकारी प्रमुखको जिम्मेवारी कुनै हालतमा स्वीकार नगर्ने स्रोतको दाबी छ ।’कामचाहिँ उहाँले गर्नुपर्ने र खटनचाहिू दलहरूको हुने हो भने चुनाव निष्पक्ष र शीघ्र हुन सक्दैन,’ स्रोतले भन्यो, ‘यो कुरो न्यायिक नेतृत्वले नजरअन्दाज गर्न मिल्दैन ।’
स्रोतका अनुसार चुनावमा सबै दलहरू सहभागी नभए र उनको नेतृत्व सर्वसम्मत रूपमा स्वीकार्य नभए पनि पद सम्हाल्न रेग्मी जाने छैनन् । यसअघि प्रधानमन्त्रीको हैसियतमा राजीनामा दिएरमात्रै कार्यकारी प्रमुख हुनुपर्ने दलहरूको प्रस्ताव रेग्मीले अस्वीकार गर्दै आएका थिए । अन्ततः शनिबार प्रधानमन्त्रीकै हैसियतमा रेग्मीलाई कार्यपालिकाको पनि प्रमुख बनाएर जेठान्तमा चुनाव गराउन मुख्य दलहरू सहमत भएका थिए ।
त्यसको भोलिपल्ट रेग्मीले आफू इजलासमा नबसेर निर्णयको सांकेतिक समर्थन गरेका छन् ।
उनको अनुहार आइतबार साविकभन्दा हूसिलो देखिन्थ्यो । उनको चाल फूर्तिलो थियो र अनुहारमा मन्द मुस्कान ।
न्यायपरिषद्ले पुनरावेदन तहमा न्यायाधीश हुन आवेदन दिने ६ भन्दा बढी उम्मेदवारको ‘अवधारणा सुन्ने’ काम गरिरहेको छ । परिषद्का पदेन अध्यक्ष रेग्मी बिहानै गए र केहीबेर आवेदकहरूको अवधारणा सुने । पछि उनी सर्वोच्च आए र आफ्नै कार्यकक्षमा बसे । तर इजलासमा भने पसेनन् । गएका दिनहरूमा भने उनी इजलासमा पनि बस्थे र आवेदकहरूको अवधारणा पनि सुन्थे ।
साूझ ६ बजे उनले राष्ट्रपति कार्यालय शीतल निवास पुगेर सर्वोच्च अदालतको वार्षिक प्रतिवेदन बुझाए ।
‘स्रोत साधनको कमी, जनशक्तिको अभाव र प्रतिकूल परिस्थितिका बाबजुद गएको वर्षभन्दा ३ प्रतिशत बढी मुद्दा छिन्न न्यायपालिका सफल भएको छ,’ रेग्मीले प्रतिवेदनको सारांश राष्ट्रपतिलाई सुनाए, ‘यो हाम्रा लागि गर्वको कुरा हो ।’
जवाफमा राष्ट्रपति रामवरण यादवले रेग्मीको नेतृत्वको तारिफ गरे । ‘न्यायपालिकाले देखाएको लगन र पूरा गरेको जिम्मेवारीप्रति म निकै खुसी छु,’ यादवलाई उद्धृत गर्दै सर्वाेच्चका एक अधिकारीले भने, ‘विधिको शासन र संविधानको पालनामा न्यायालयको भूमिका प्रशंसनीय छ ।’
प्रतिवेदन बुझाएपछि शीतल निवासले आयोजना गरेको रात्रिभोजमा रेग्मी सहभागी हुँदा रात परिसकेको थियो ।
उता शीतल निवासमा दलका शीर्ष नेताहरू छलफल गरिरहेका थिए । अबेरसम्म पनि तिनको निर्णय नआएपछि रेग्मी रात्रिभोज सकेर सरासर निक्लिए ।
‘सरकारको नेतृत्व लिनका लागि तपाईंका सर्त के के हु्न् ?’ गाडीमा बस्नुअघि रेग्मीलाई सञ्चारकर्मीहरूले घेरेर सोधेका थिए, ‘राष्ट्रपति र नेताहरू के भन्छन् ?’
जवाफमा रेग्मीले आफ्नो स्वभावअनुसार यसबारे केही पनि बोलेनन् ।
‘म वार्षिक प्रतिवेदन बुझाउन आएको हुँ’ उनले भने, ‘बुझाएँ र फर्किएँ ।’