(एजेन्सी)कर्मचारी कटौतिको विरोधमा बीबीसीका पत्रकारहरु २४ घण्टे हड्तालमा उत्रिएपछि टेलिभिजन र रेडियो कार्यक्रमहरुमा असर परेको छ। खर्च कम गर्न कर्मचारीहरुलाई अनिवार्य अवकाश दिने निर्णयविरुद्धको अभियानका क्रममा नेसनल युनियन अफ जर्नलिस्ट्सका सदस्यहरु मध्यरातबाट हड्तालमा उत्रिएका हुन्। युनियनका महासचिव मिेसेल स्टानीस्ट्रिटको नेतृत्वमा बीबीसीको लन्डनस्थित केन्द्रीय कार्यालयबाट मध्यरातमा पत्रकारहरु बाहिर निस्किएका थिए।
युनियनका अनुसार कर्पोरेसनका बीबीसी स्कटल्यान्ड, फाइभ लाइभ, द एसियन नेटवर्क र वर्ल्ड सर्भिसबाट कर्मचारी कटौति हुँदैछ । ८ वर्षयता बीबीसीमा ७ हजार जनालाई अवकाश दिइएको र थप २ हजार जनाको जागिर धरापमा रहेको युनियनले जनाएको छ।
बीबीसीका प्रवक्ताले युनियनको कदम निराशाजनक भएको टिप्पणी गरेका छन्।
युनियनले बीबीसीका नयाँ महानिर्देशकसँग मोलमोलाइ गर्न ६ महिनाको अवधिसम्म कसैलाई पनि जागिरबाट ननिकाल्न बीबीसीलाई आग्रह गरेको छ।