स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा ३० वर्षभन्दा माथिकाले उम्मेदवारी दिन नपाउने प्रावधानसहित त्रिभुवन विश्वविद्यालयले स्ववियु विधान संशोधन गर्ने तयारी गरेको छ। त्रिविका क्याम्पस तथा विश्वविद्यालयमा चुनाव लड्नकै लागि पटक-पटक भर्ना हुने र विद्यार्थी कल्याणमा भन्दा पनि दलको झन्डा बोकेर हिँड्ने प्रवृत्ति न्यून गर्न त्रिविले उमेरहद तोक्न लागेको विद्यार्थी कल्याण तथा खेलकुद शाखाप्रमुख गंगाबहादुर थापामगरले बताए।
त्रिविले चैत अन्तिम साता मिश्रित प्रणालीबाट चुनाव गराउन लागेको छ। त्यसबारे मंगलबार विद्यार्थी संगठनसँग गरेको छलफलमा प्रमुख थापामगरले स्ववियु चुनावमा ३० वर्ष उमेर नाघेकाले मत खसाल्न पाउने, तर चुनावमा उम्मेदवारी दिन नपाउने व्यवस्था राख्ने सहमति भएको जनाए।
त्रिविले एक सातादेखि अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ र अनेरास्ववियुसँग छलफल गरी स्ववियु विधान संशोधनको तयारी अघि बढाएको पनि उनले जानकारी दिए।
विश्वविद्यालयका शिक्षाध्यक्ष गुणनिधि न्यौपानेको अध्यक्षतामा भएको विद्यार्थी र त्रिवि पदाधिकारीबीचको छलफलमा स्ववियु अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष प्रणालीबाट, सदस्यमा आधा समानुपातिक, आधा प्रत्यक्ष प्रणालीबाट चुनाव गराउने सहमति पनि बनेको छ।
‘हामीले सबै विद्यार्थी संगठनसँग छलफल गरी स्ववियुको हकहितमै नयाँ प्रस्ताव ल्याएका हौं,’ थापामगरले नागरिकसँग भने, ‘संशोधित स्ववियु विधानलाई फागुन अन्तिम साता त्रिवि कार्यकारी परिषदले पारित गरी लागू गर्छ ।’
उनले थपे, ‘अन्तर्राष्ट्रिय स्तरमा स्ववियु उम्मेदवारको उमेर २७-२८ वर्षसम्म मात्र रहे पनि हाम्रो देशको सन्दर्भमा भने ३० वर्ष बनायौं।’
यसैगरी, क्याम्पसका सर्वाेत्कृष्ट एक छात्रा र एक छात्र पनि स्ववियुमा पदेन सदस्य रहने प्रावधानसहित स्ववियु विधान संशोधन हुने उनले जनाए। हालसम्म स्ववियुको हिसाबकिताब निजी संस्थाले गर्दै आएकोमा अबदेखि त्रिविकै आन्तरिक लेखापरीक्षकले गर्ने व्यवस्था गरिएको छ।
त्रिविको नयाँ प्रस्तावलाई विद्यार्थी संगठनहरुले स्ववियु सुधारमा स्वागतयोग्य बताएका छन्। अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले त्रिविले स्ववियु उम्मेदवारीको हकमा ३० वर्षमाथिकालाई बन्देज लगाएर स्वागतयोग्य कार्य गरेको प्रतिक्रिया दिए।
‘हालसम्म उमेरहद नभएकैले गैरविद्यार्थी पनि कलेज भर्नाकै भरमा स्ववियुमा कब्जा गरी बस्थे,’ अध्यक्ष शर्माले भने, ‘उमेर हदबन्दी लगाएपछि नेतृत्वमा युवा पहुँच हुन्छ, स्ववियु समावेशी र समानुपातिक बन्छ।’
अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले विद्यार्थीसँग छलफलबाट स्ववियु विधान संशोधन गर्ने प्रस्ताव ल्याएको र त्यसमा सबै विषयवस्तु विद्यार्थीको हकहित र शैक्षिक सुधारनिम्ति सकारात्मक रहेको बताए।
‘चुनाव प्रणाली विवादले तीन वर्षदेखि रोकिएको स्ववियु चुनावबारे बनेको सहमति नै सकारात्मक पक्ष हो,’ अध्यक्ष ढुंगेलले नागरिकसँग भने, ‘उम्मेदवारको उमेर हदबन्दी युवा पुस्ताको विकासमा ऐतिहासिक पहल हो।’
नेविसंघ अध्यक्ष रञ्जित कर्णलेे चुनाव प्रणालीमा भएको विवादकै कारण तीन वर्षसम्म चुनाव नभएको भन्दै त्रिवि-विद्यार्थी सहमति स्वागतयोग्य रहेको बताए। उमेर हदबन्दीमा भने उनले विमति जनाए। ‘कलेजमा पढ्ने जुनसुकै उमेरका पनि विद्यार्थी नै भएकाले सबै उमेरकाले उम्मेदवारी दिन पाउनुपर्ने नेविसंघको मान्यता हो,’ अध्यक्ष कर्णले भने, ‘तर नेविसंघ चुनावको पक्षमा भएकाले उमेरकै कारण चैतमा हुने चुनावमा बाधा गर्दैन।
– नागरिक