काठमाडौं । नेपाल सेनाका महासेनानी कुमार लामालाई धरौटीमा छाड्न बेलायती अदालतले आदेश दिएको छ । नेपालमा माओवादी द्धन्दका बेला युद्ध अपराध गरेको आरोप खेपेका लामा झण्डै दुई महिना देखि लन्डनस्थित बेलमार्स कारागारमा थुनिएका थिए ।
बेलायतको चेल्म्स्फोर्ड क्राउन कोटर्, ससेक्समा दिइएको जमानत आवेदनमा सुनुवाइ हुंदा अदालतले लामालाई धरौटीमा छाड्न आदेश दिएको हो । लामाका तर्फबाट अनुभवी बेलायती वकिल क्यूसी जेम्स् लुइसले वहस गरेका थिए । कानुनी प्रक्रिया पुरा भएपछि बढिमा दश हजार पाउण्ड धरौटी राखेर तीन दिनभित्र लामा छुट्नसक्ने औल्याईएको छ । बेलायतमा आज र भोलि सार्वजनिक विदा परेकोले धरौटी राख्ने र अन्य कानुनी प्रक्रिया पुरा गर्न ढिलाई हुने भएको छ । लामा धरौटीमा रिहा भएपनि बेलायत छोड्न भने नपाउने भएका छन् । उनलाई अदालतले चाहेको बेला हाजिर हुने शर्तमा छाडिने भएको छ ।
यसअघि लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्टले लामाको जमानत आवेदन अस्वीकार गरेको थियो । चिलीका पूर्व तानाशाह अगष्टो पिनोसेको मुद्दा हेर्ने अनुभवी कानुनकर्मी ठानिएका क्यूसी माइकल क्याप्लानले यसअघि जमानतका लागि आवेदन दिएका थिए । लामा विरुद्धको मुद्धाको सुनुवाई भने आगामी ५ जुनमा दक्षिण पश्चिम लन्डनस्थित किङस्टन क्राउन कोर्टमा हुने छ । लामाले तत्कालीन शाही नेपाल सेनाको कपिलबस्तु क्षेत्र हेर्ने प्रमुख हुंदा दुईजना सर्वसाधारणमाथि यातना दिएको अभियोग लागेको छ ।
– RSS