कीर्तिपुर – त्रिभुवन विश्वविद्यालयले एक हप्ताभित्रमा स्ववियु निर्वाचनको कार्यक्रम ल्याउने गरी तयारी गरेको छ। वि.स. २०६५ यता हुन नसकेको स्ववियु निर्वाचन गराउन विश्वविद्यालयले आफ्नो आन्तरिक गृहकार्यका साथै विद्यार्थी सङ्गठनसँगको छलफललाई तीव्र बनाएको छ।
अघिल्ला वर्ष निर्वाचनको प्रक्रियामा नै विद्यार्थी सङ्गठनबीच चरम विवाद भएकोमा यस वर्ष भने सबै विद्यार्थी सङ्गठनहरू मिश्रित निर्वाचन प्रणालीमा लगभग सहमत भएका कारण निर्वाचन हुने पक्का भएको छ।
विद्यार्थी सङ्गठनहरू मिश्रित निर्वाचनमा लगभग सहमत भएका कारण अरू गृहकार्य भइरहेको त्रिवि विद्यार्थी कल्याण शाखाका प्रमुख गङ्गाबहादुर थापाले जानकारी गराए।
त्रिभुवन विश्वविद्यालयले विद्यार्थी सङ्गठनसँग जारी राखेको छलफलमा ३० वर्षभित्रको उमेर समूहको सीमा निर्धारण गर्ने सम्बन्धमा छलफल भए पनि यस विषयमा विद्यार्थी सङ्गठनहरूबीच मत बाझिएको थापाले बताए।
लामो समयसम्म निर्वाचन नभएका कारण यसै वर्षदेखि ३० वर्षको उमेरको सीमा निर्धारण गर्न उपयुक्त नहुने धारणा अधिकांश विद्यार्थी सङ्गठनहरूले राखेका छन्। रासस