काठमाडौं । प्रधान न्यायाधीश खिलराज रेग्मीलाई सरकारको नेतृत्व दिनु संविधान विपरीत हुने दावी गर्दै सर्वोच्च अदालतमा परेको रिटको आज हुने भनिएको सुनुवाइ चैत १ गतेका लागि सारिएको छ । अधिबक्ताहरु ओम प्रकाश अर्याल र भरतमणि जगंमले दायर गरेको रिटको प्रकृति समान रहेकाले दुबैको सुनुवाई चैत १ गतेलाई सारिएको हो ।
रिटबारे आज न्यायाधीशत्रय शुशीला कार्की, कल्याण श्रेष्ठ र गिरिश चन्द्रलालको विशेष इजलाशमा सुनुवाइ सुरु हुने भनिएको थियो । प्रधान न्यायाधीशलाई चुनावी सरकारको प्रधानमन्त्री बनाउने प्रमुख राजनीतिक दलबीच फागुन ५ गतेको सहमतिविरुद्ध अधिवक्ता भरतमणि जंगमले फागुन ६ गते रिट दिनुभएको थियो । रिटमा दलहरुको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न र प्रधान न्यायाधीशलाई प्रधानमन्त्री नबनाउन परमादेश माग गरिएको छ ।
निवेदनमा राष्ट्रपति, मन्त्रिपरिषद, प्रधानमन्त्री बाबुराम भट्टराई र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई विपक्षी बनाइएको छ । सर्वोच्चको विशेष ईजलासले रिटको सुनुवाई सारेपछि चुनावी सरकार गठन गरी आगामी जेठमा संविधानसभाको चुनाव गर्ने तयारी पनि पछि सरेको छ । नेपाली कांग्रेसले सर्वोच्चमा परेको रिटको फैसला आएपछि मात्र प्रधान न्यायाधीशको नेतृत्वमा सरकार बनाउने बारेमा सोच्न सकिने अडान राख्दै आएको थियो ।
RSS