सिरियाको गोलानहाइट्स क्षेत्रमा हतियारबन्द विद्रोहीले संयुक्त राष्ट्रसंघका शान्तिदूतलाई बन्दी बनाएका छन् । आफूलाई यार्मुक शहीद सेना दल बताउने हतियारधारीले २० जना शान्ति दूतलाई बन्धक बनाएका हुन् । उनीहरुले राष्ट्रपति बशर अल असदले जमला गाउँबाट आफ्ना सैनिक फिर्ता नगरेसम्म शान्तिदूतलाई नछाड्ने सन्देश इन्टरनेटमा छाडेका छन् ।
यार्मुक सिरियाको दमाश्कस शहरको एक शरणार्थी शिविर भएको र त्यहाँ बढीजसो प्यालेष्टाइन शरणार्थी बस्ने गरेको जनाइएको छ । राष्ट्रसंघका कर्मचारी सन् १९६७ देखि इजरायलको कब्जामा रहेको सिरिया र इजरायलको पहाडी सीमा गोलानबाट पक्राउ परेका हुन् । सिरिया सरकारले आमजनतामाथि गरेको हवाई आक्रमण रोक्न यी कर्मचारीलाई बन्धक बनाएको विद्रोहीको भनाइ छ । सिरियाका प्रमुख विपक्षी दलले भने राष्ट्रसंघीय कर्मचारी बन्धक बनाइएकोमा निन्दा गरेको छ ।
यसैबीच ब्रिटेनले सिरियाली जनताको जीवन बचाउन भन्दै विपक्षी दललाई हतियारबन्द गाडी र सुरक्षा कवच दिने घोषणा गरेको छ । विदेशमन्त्री विलियम हेगले सिरियाली सर्वसाधारण नागरिकको जीवन रक्षाका लागि आवश्यक पर्ने हतियार र विभिन्न खाले महामारी रोक्न केही लाख पाउण्डको सहयोग गर्ने जानकारी दिएका हुन् ।
सिरियामा दुई वर्षदेखि जारी हिंसात्मक आन्दोलनमा ७० हजारभन्दा बढी नागरिक मारिइएको तथा दशौं लाख व्यक्ति घरवारविहीन भएको तथ्यांक छ ।
AGENCIES