प्रतीक लामिछाने,
काठमाडौं । नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवसका अवसरमा आज राजधानीको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना ग-यो । समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति डा. रामबरण यादवले सैनिक परेड अवलोकन गरे ।
समारोहमा नेपाली सेनाले १९ तोपको शिवरात्री बडाई गर्नुका साथै सैनिक कवाज, मार्चपास, कला, व्याण्ड डिस्प्ले तथा हवाई कला प्रदर्शनी प्रस्तुत गरेको थियो ।
त्यस्तै, सेनाका विभिन्न गणका प्रतिनिधिहरुले ५ हजार फिट उचाईबाट प्लाराग्लाईडिङ्ग गर्नुका साथै सेनाको गाडी तथा युद्धका बेला प्रयोग गरिने उपकरणहरु प्रदर्शन गरेका थिए ।
राष्ट्रपति डा. यादवले सेनाको श्रीनाथ गण, कालीबक्स गण, बर्द बहादुर गण, सबुज गण र पुरानो गोरखबहादुरलाई कदर पत्र प्रदान गरे ।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रधानन्यायधीश खीलराज रेग्मी, सरकारका मन्त्रीहरु, कुटनीतिक नियोगका उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसको रुपमा मनाउँदै आएको छ । ईतिहासका विभिन्न कालखण्डमा नेपालको स्वतन्त्रता, भौगोलिक अखण्डता तथा सार्वभौमसत्ताको रक्षाका लागि नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
नेपाली सेनाको सागांठनिक स्वरुपको सुरुआत वि.सं. १८१९ सालबाट भएको मानिन्छ । सयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा नेपाली सेना सन् १९५८ बाट संलग्न हुँदै आएको छ ।
शान्ति स्थापना कार्यमा ९५ हजारभन्दा बढी नेपाली सैनिकले सहभागिता जनाइसकेको नेपाली सेनाले जनाएको छ । हाल विश्वका १३ वटा राष्ट्रसंघीय मिसनमा तीन हजार पाँच सय ७० नेपाली सैनिक कार्यरत छन् ।
प्रमुख सुरक्षा अंगका रुपमा नेपाली सेनाले मुलुकको स्वतन्त्रता, सार्वभौसत्ता, भौगोलिक अखण्डताको रक्षाको साथसाथै विपद् व्यवस्थापन र विकास निर्माणमा समेत काम गर्दै आएको छ ।
RSS