प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनेबारे मूख्य चार दलद्धारा विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल

काठमाडौं । प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार बनाउनेबारे मूख्य चार दलले गरेको सहमतिबारे विघटित संविधान सभामा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गरेका छन। 


हिजो एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले र मधेशी मोर्चाका नेताले सहमतिको सरकार बनाउन थप सहमति भएको दावी गरेका थिए । चार दलबीच सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा पनि सहमति भएको हो । नयाँ बानेश्वरस्थित सेना समायोजन विशेष समितिको कार्यालयमा निकै लामो छलफल भएपनि सेनामा गएका माओवादीका पूर्व लडाकुको दर्जाबारे भने सहमति हुन सकेको छैन । प्रधान न्यायाधीश खिलराल रेग्मीले बाधा अड्काउने सम्बन्धमा दिएको राजनीतिक तथा संवैधानिक सुझावमाथि बैठकमा छलफल भएको र सोही अनुसार मस्यौदा तयार पारिएको हो । मस्यौदामाथि कार्यदलमा थप छलफल गरी आज वैठक गरिने नेताहरुले बताए ।


त्यसअघि हिजै चार दलका शिर्ष नेताहरुले प्रधान न्यायाधीश रेग्मीलाई भेटेर छलफल गरेका थिए । त्यस क्रममा रेग्मीले  आफू भन्दा माथि राजनीतिक संयन्त्र बनाउने विषय संविधानमा राख्न नहुने र चुनावको तिथि पनि संविधानमा तोक्न नहुने लगायतका सुझाव दिनुभएको थियो ।

 

-RSS