काठमाडौं । नेपाल सरकारका मूख्यसचिव लिलामणि पौडेलले लोडसेडिङ्गको समस्यालाई कम गर्न नयाँ आयोजनालाई समयमै सक्नु पर्नेमा जोड दिनुभएको छ । नेपाल विद्युत प्राधिकरणले बुधबार गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका अध्यक्ष समेत रहनुभएका पौडेलले कम लागतका आयोजनालाई पहिलो प्राथमिकतामा राखेर छिटो नसकेसम्म लोडसेडिङ्गको समस्या नहट्ने जिकिर गर्नुभयो ।
प्राधिकरणमा संगठन संरचनालाई परिमार्जन गर्ने र नयाँ जनशक्तिलाई परिचालन गरी आयोजनालाई अगाडी बढाउने उहाँले बताउनु भयो । वितरण प्रणालीलाई सुधार गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । डिजेल प्लान्ट ल्याउने निर्णय नभएको पनि उहाँले प्रष्ट पार्नुभयो ।
प्राधिकरणका प्रबन्ध निर्देशक रामेश्वर यादवले लोडसेडिङ्ग कम गर्न भारतसँग थप विद्युत आयात गरिएको बताउनु भयो । डिजल प्लान्ट र मल्टीफ्युल प्लान्टहरु मर्मत सम्भार भई संचालनमा आएकाले थप विद्युत उत्पादनमा सहयोग पुगेको उहाँको भनाई छ ।
विद्युत चुवाट नियन्त्रण प्रभावकारी बनाउँदै लगिएको दाबी गर्दै यादवले हालसम्म २६ हजार ८ सय ५ जनालाई कारबाही गरी २ करोड ३ लाख जरिवाना गरिएको उहाँले बताउनु भयो ।
RSS