काठमाडौं । सर्वोच्च अदालतले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी पदमा रहेसम्म उनको प्रधानन्यायाधीशको हैसियत निलम्बन गर्ने अन्तरिम आदेश दिएको छ ।
पहिलो पटक प्रधानन्यायाधीश विरुद्धको रिटको सुनुवाई गर्दै न्यायाधीश गिरिशचन्द्र लालको एकल ईजलाशले राष्ट्रपतिबाट जारी बाधा अड्काऊ फुकाऊ आदेश अनुसार रेग्मी कार्यकारी प्रमुख बनिसकेको हुँदा उक्त पदमा रहेसम्म कार्यकारी प्रमुखबाट मात्रै परिचित हुनसक्ने आदेश गरेको हो ।
आदेशमा रेग्मीले कार्यकारणीको हैसियतमा काम गरिरहेको अवस्थामा स्वतन्त्र न्यायपालिकाको कार्यक्षेत्रमा कुनै प्रतिकुल प्रभाव नपरोस् भन्ने उद्देश्यले रेग्मीलाई अध्यक्षको रुपमा मात्र परिचित हुन भनिएको छ ।
प्रधानन्यायाधीश कार्यकारी प्रमुख बन्न नमिल्ले जिकिर गर्दै सर्वोच्च अदालतमा अधिवक्ता चन्द्रकान्त ज्ञवाली र ओमप्रकाश अर्यालले दिएको रीट निवेदनको सुनुवाई गर्दै सर्वोच्चले यस्तो आदेश दिएको छ ।
खिलराज रेग्मी नेतृत्वको चुनावी मन्त्रिपरिषद् विस्तार हुँदै/मन्त्रिको शीतल निवासमा सपथ खाँदै
खिलराज रेग्मी नेतृत्वको चुनावी मन्त्रिपरिषद् विस्तार हुने भएको छ । राति साढे ८ बजे शीतलनिवासमा अध्यक्ष रेग्मीले नयाँ मन्त्रीहरुलाई सपथ खुवाउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
विश्वस्त स्रोत अनुसार सपथ खानेहरुमा एमाले कोटाबाट माधव पौडेल, राष्ट्रपतिको कोटाबाट विद्याधर मल्लिक, माओवादीबाट रामकुमार श्रेष्ठ र अन्यबाट उमाकान्त झा, शंकर कोइराला र टेकबहादुर धर्तीले सपथ खाने भएका छन् ।
त्यस्तै छविराज पन्त र महिलाबाट ऋद्धिबाबा प्रधानको नाम आएको छ । आज मन्त्री सपथ लिएपछि लोकमानसिंह लगायतका व्यक्तिहरुको संवैधानिक निकायमा नियुक्ति मंगलबार हुने बुझिएको छ ।
नेतादेखि राष्ट्रपतिसम्म लबिङमा
सरकारको तालाचाबी रेग्मीलाई बुझाएका राजनीतिक दलहरुले मन्त्री बनाउने क्रममा सकेसम्म आफ्नो निकटस्थ व्यक्ति पार्न सकियोस् भन्ने कसरत गरेका थिए । नेतामात्रै होइन, स्वयं राष्ट्रपति डा. रामवरण यादवले समेत विद्याधर मल्लिकलाई मन्त्री बनाउनुपर्ने आग्रह अघि सार्नुभएको स्रोत बताउँछ ।
एक मन्त्री, दुई मन्त्रालय
चुनावका लागि मात्रै काम गर्न अख्तियारी पाएको मन्त्रिपरिषद्को आकार मन्त्रालयको तुलनामा आधा कम छ, जसका कारण एक मन्त्रीले दुईवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपर्ने छ । नयाँ मन्त्रीहरुले हाल खिलराजले सम्हालिरहेका २२ वटा मन्त्रालयमध्येबाटै पाउने र बहालबाला मन्त्रीले सम्हालेका मन्त्रायलमा भने हेरफेर नहुने बताइएको छ । अहिले माधवप्रसाद घिमिरेले गृह र परराष्ट्र तथा हरिप्रसाद न्यौपानेले कानुन र श्र्रम मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । मन्त्रालयको भागबण्डाको जिम्मेवारी रेग्मीलाई नै दिइएको छ ।