नयाँदिल्ली । भारतको सर्वोच्च अदालतले इटालीका राजदूत ड्यानियल मान्सिनीलाई कानूनी क्षमादान दिने अवस्था नरहेको जनाएको छ । दुई जना भारतीय माझीको हत्या गरेको अरोप लागेका इटालीका दुई जलसेनालाई भारत फर्काउन रोमले अस्वीकार गरेपछि भारतीय अदालतका तर्फबाट यस्तो निर्णय आएको हो ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीय अल्तामास कबिरले इटालीका राजदूत मान्सिनीमाथि विश्वास गुमेको बताए । अदालतले राजदूत मान्सिनीलाई भारत छोड्न नपाउने आफ्नो फैसलाको पुनः पुष्टि गर्दै क्षमादान दिन नसकिने जनाएको हो ।
गत फेब्रुअरीमा केरलामा दुई जना माझीको हत्या गरेको आरोप लागेका ती दुई इटालीयन सेना मुद्दा सामना गर्ने शर्तमा चुनावमा भोट हाल्न स्वदेश फर्किका थिए ।
यस विषयमा राजदूत मान्सिनीले आफ्नो व्यक्तिगत विश्वास दिलाउँदै उनीहरु अदालतको आदेश अनुसार चार हप्ता पछि भारत फर्कने बताएका थिए ।
तर, गत शुक्रवार मात्र रोमले दिल्लीसँगको अन्तर्राष्ट्रिय कानून र आपसी सहमतिका आधारमा समाधान गर्न चाहेको जनाएको थियो ।
– AGENCIES