सिरियाको विपक्षी नेशनल गठबन्धनले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा धसान हिट्टोलाई नयाँ प्रधानमन्त्री चयन गरेको छ ।
टर्कीको इस्तानबुलमा बसेको विपक्षी गठबन्धनका नेताहरुको बैठकले हिट्टोलाई आफ्नो प्रधानमन्त्री चुनेको हो । उनीहरुले पारदर्शी र प्रजातान्त्रिक प्रक्रियाबाट हिट्टो प्रधानमन्त्री निर्वाचित भएको दावी गरेका छन् ।
राजधानी दमस्कसमा जन्मिएका आईटी विज्ञ हिट्टो दशकौंसम्म अमेरिकामा बसेका थिए । उनको पहिलो काम विदेशमा काम गरिरहेका आफ्ना पक्षका मानिसलाई समेटेर सरकारलाई पूर्णता दिनु रहेको जनाइएको छ । विद्रोही कमाण्डरले पनि आफ्नो समूहले नयाँ सरकारको मातहत रहेर काम गर्ने प्रतिबद्धता जनाएका छन् । सिरियामा राष्ट्रपति बशार अल असादको शासनविरुद्ध संघर्ष गरिरहेका विद्रोहीले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा अलग्गै सरकार बनाएर प्रशासन चलाइरहेका छन् ।
राष्ट्रपति असादको शासनविरुद्ध दुई वर्षदेखि जारी संघर्षमा त्यहाँ ७० हजारभन्दा बढी मानिस मारिइसकेका छन् । १० लाखभन्दा बढी त शरणार्थीका रुपमा छिमेकी मुलुकहरुमा पलायन भएका छन् ।
agencies