निर्वाचन सम्वन्धी गतिविधि बन्द गर्न नेकपा-माओवादी मगरातको माग

– शोभाखर पन्थी 
नेकपा-माओवादी मगरातले निर्वाचन सम्वन्धी गतिविधि बन्दगर्न राज्यको ध्यानाकर्षण गराएको छ । माओवादी मगरात राज्य इन्चार्ज सन्तोष बुढामगर र सेक्रेटरी बावुराम नेपालीले एक प्रेश वक्तव्य प्रकाशित गरि मुलुकका अधिकांश दलहरुले विरोध गर्दागर्दै राष्ट्रिय सहमति बाहिर विदेशी शक्ति केन्द्रको इशारामा र चार दलका नेताहरुको निर्देशनमा निर्मित वर्तमान असंवैधानिक र अलोकतान्त्रीक जगमा उभिएको सरकारले मुलुकमा निर्वाचनको लागी संचालन गर्ने गतिविधिहरु असंवैधानिक र अलोकतान्त्रीक तथा राष्टघाति हुने भन्दै, मगरात राज्यका ९ जिल्लामा भएका सम्पूर्ण निर्वाचन सम्बन्धी गतिविधि बन्द गर्न माग गरिएको छ  ।
वक्तव्यमा बर्तमान राष्ट्रघाति र जनघाति सरकारले निर्वाचन गराउनै नसक्ने भन्दै निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधिहरु बन्द गर्न जिल्लास्थीत सबै निर्वाचन कार्यालय र संवद्ध पक्षलाई आग्रह गर्दै आफ्नो पार्टीको आग्रहलाई वेवास्ता गरिएमा प्रतिवाद गर्ने र त्यसबाट उत्पन्न हुन सक्ने सम्पूर्ण जिम्मेवारीको दोष राज्यले लिनु पर्ने जनाइएको छ ।
साथै वक्तव्यमा चैत्र १ गतेको असंवैधानिक कदम तत्काल फिर्ता लिई दलहरु बिचको सम्वाद र छलफल बाटनै मुलुको निकाश निकाल्ने प्रयत्न गरिनु पर्ने जनाईएको छ । नेकपा माओवादीले भन्दै आएको मगरात राज्यमा बाग्लुङ,पाल्पा गुल्मी, अर्घाखाँची,प्यूठान ,रोल्पा ,सल्यान र रुकुम गरी ९ जिल्ला छन् ।