कांग्रेस नेताहरू चुनावी अभियानमा सक्रियता, कार्यकर्तालाई चुनावी माहोलमा जुट्न आह्वान

प्रेम नेपाली

 

पोखरा – कांग्रेस शीर्ष नेताहरू पनि चुनावी अभियानमा सक्रियताका साथ जुटेका छन् । पार्टी सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल एकसाथ जिल्ला दौडाहामा निक्लिएर सभा/कार्यक्रममा सहभागी हुन थालेका छन् ।

स्याङ्जामा सोमबार सार्वजनिक सभामा कार्यकर्तालाई चुनावी माहोलमा जुट्न आह्वान गरेका शीर्ष नेताहरूले मंगलबार यहाँ पनि त्यही आह्वान गरे । प्रेस युनियनको सहयोगमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरूले आफूहरूबीच विवाद पनि नभएको सन्देश दिने प्रयास गरे । मुलुकको निकासका लागि चुनाव पहिलो प्राथमिकता भएको उल्लेख गर्दै उनीहरूले कार्यकर्तालाई निर्धक्क भएर लाग्न आग्रह गरे ।


सभापति कोइरालाले लोकतन्त्र रक्षा गर्न कांग्रेसको जित अपरिहार्य भएकाले त्यसका लागि साना र लोकतान्त्रिक दलहरूसँग सहकार्य गरेर अघि बढ्ने बताए । ‘देश तरबारको धारमा हिँडिरहेकाले पार लगाउन चुनाव आवश्यक छ,’ कोइरालाले भने, ‘त्यसका लागि कांग्रेसले जित्न जरुरी छ । प्रजातन्त्रको मुटु भनेको चुनाव भएकाले त्यसैमा केन्दि्रत हुनुहोस् ।’


लोकतान्त्रिक शक्तिहरू कमजोर भएकाले संविधान बनाउन नसकी संविधानसभा विघटन भएको उनले बताए । ‘माओवादीको दसवर्षे युद्धकालमा प्रजातन्त्रवादीलाई हिँड्न गाहो भएकाले हार भयो,’ उनले कार्यकर्तालाई भने, ‘अब पहिलाको जस्तो छैन, तपाईंहरू निर्धक्क भएर गाउँ-गाउँमा जानुहोस् ।’ जनतालाई आफ्नो मित्रशक्ति छुट्टयाउन आग्रह गर्दै कोइरालाले जनविरोधी शक्ति चुनावमा पतन भएर जाने दाबी गरे । निर्वाचनको विपक्षमा रहेका मोहन वैद्य र उपेन्द्र यादवको दललाई पनि उनले चुनावमा सहभागी हुन आग्रह गरे ।


सकभर चाँडै मिति घोषणा गरिने र त्यही तिथिमै चुनाव हुने जानकारी दिए । वरिष्ठ नेता शेरबहादुर देउवाले पनि चुनावमा जाने विषयमा कुनै विवाद नभएको स्पष्ट पार्दै त्यसतर्फ लाग्न कार्यकर्तालाई आग्रह गरे । ‘अब डरको आधारमा भोट हाल्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ उनले भने ।  उपसभापति पौडेलले चुनावको विरोध गर्नु भनेको देशलाई बर्बादीतर्फ धकेल्नु भएको बताए ।

 

EKANTIPUR