पूर्वराजाले लगे हुन्डीबाट डेढ करोड/होटलमा पूर्वराजपरिवारको दैनिक डेढ लाखभन्दा बढी खर्च

– नवराज मैनाली
पूर्वराजा ज्ञानेन्द्रले गैरकानुनी रूपमा हुन्डीमार्फत पैसा बैंकक पुर्‍याइरहेका छन् । छोरा पारसको उपचारमा करिब डेढ करोड लाग्दा उनले बैंकिङ च्यानललाई प्रयोग गरेका छैनन् । ८ फागुनमा हृदयाघात भएयता पूर्वयुवराज पारस बैंककको समितिभेज अस्पतालमा छन् । पारसको उपचार र परिवारको बसाइमा थाइल्यान्डमा डेढ करोडभन्दा बढी खर्च भएको छ । 
सामान्य अवस्थामा विदेश जाने नेपालीले बढीमा दुई हजार पाँच सय डलर मात्र लैजान पाउने व्यवस्था छ । उपचारका लागि विदेशमा पैसा लैजान वीर अस्पतालको मेडिकल बोर्डको सिफारिसमा मात्र पैसा लैजान मिल्छ । तर, पारस उतै बिरामी भएकाले मेडिकल बोर्डले उपचारका लागि पैसा लैजान सिफारिस गरेको छैन । त्यसैले पूर्वराजपरिवारले गैरकानुनी बाटोबाट पैसा लगेको छ । 
राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले पूर्वराजपरिवारले हुन्डीमार्फत पैसा लगेको विषयमा आफूलाई जानकारी नभएको बताए । तर, उपचारका लागि वीर अस्पतालको मेडिकल बोर्डको सिफारिसबाहेक अन्य तरिकाबाट पैसा लग्न नमिल्ने उनले स्पष्ट पारे । 
छोरा अस्पतालमा भर्ना भएको आठ दिनपछि १६ फागुनमा बैंकक जाँदा पूर्वराजा ज्ञानेन्द्रले सामान्य खर्च मात्र बोकेर गएका थिए । उता थप पैसा आवश्यक भएपछि पूर्वराजालाई बैंककस्थित नेपालीहरूले खर्च मगाउने मेसो मिलाइदिएका थिए । 
३५ दिनमा झन्डै एक करोड रुपैयाँ त अस्पतालमै खर्च भइसकेको स्रोत बताउँछ । सुरुमा उनको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर भए पनि चामत्कारिक रूपमा स्वास्थ्यमा सुधार आएको थियो । केही दिनमै उनी डिस्चार्ज हँुदै छन् । 
पाँचतारे होटल जेडब्लू म्यारिओट होटलमा बस्दै आएका परिवारको खर्च पनि धेरै छ । विश्वमा ६४ वटा शाखा भएको प्रसिद्ध र महँगो पाँचतारे होटल हो । पूर्वराजासहित पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, पारसकी बहिनी प्रेरणा, दुई पुत्री पूणिर्का र कृतिकासहितका करिब १० जना बैंकक गएका थिए । होटलमा पूर्वराजपरिवारको दैनिक डेढ लाखभन्दा बढी खर्च हुने गरेको छ । 
होटलको वेबसाइटमा जनाइएअनुसार सामान्य किसिमको कोठाकै सात हजार भाट अर्थात् करिब २० हजार रुपैयाँ पर्दछ । पारसको उपचारमा एनआरएन थाइल्यान्डका महासचिव सुनील खड्कालगायतका नेपालीले आर्थिक तथा अन्य विभिन्न किसिमका सहयोग गर्दै आएका छन् । 
त्यस्तै पारस बिरामी भएपछि बैंकक पुगेका शिवसेनाका अध्यक्षलगायत शुभचिन्तक र आफन्तहरू भने अन्य होटलमा बसेका छन् ।