काठमाडौं । निर्वाचन आयोगले निर्वाचन विरोधी गतिविधि तत्काल बन्द गरेर आयोगका काममा सहयोग गर्न आन्दोलनरत दलहरुलाई आग्रह गरेको छ ।
निर्वाचन सम्बन्धी गतिविधि रोक्न माग गर्दै आयोगमा ज्ञापन बुझाउन पुगेका नेकपा माओवादी लगायतका दलहरुसँगको छलफलमा आयोगले यस्तो आग्रह गरेको हो । आयोगले संविधान र कानुनसम्मत काम गरिरहेको भन्दै मतदाता नामावली संकलन लगायतका काममा अवरोध नगर्न आग्रह गरेको हो । प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले सरकार गठनको विधि र प्रकृया बारेमा चित्त नबुझेको भए दलीय सहमति कायम गर्न तर आयोगका काममा अवरोध नगर्न आग्रह गर्नुभयो ।
आन्दोलनरत् दलहरुले भने अहिलेकै अवस्थामा चुनावी गतिविधि अघि बढाउनुको कुनै औचित्य नहुने भन्दै त्यसलाई रोक्न माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
यसैबीच, आन्दोलरत् दलहरुले हिजो देशभर विरोध सभा गरे । गत चैत १ गते चार दलबीच भएको ११ बुँदे सहमति खारेज हुनुपर्ने तथा खिलराज रेग्मी नेतृत्वको सरकारले राजीनामा दिनुपर्ने लगायतका मागराख्दै उनीहरुले राजधानीको शान्तिबाटिकामा पनि विरोध सभा गरे । सभालाई सम्बोधन गर्दै माओवादी सचिव देब गुरुङ्गलगायतले आफूहरुको माग पुरा नहुञ्जेल आन्दोलन र निर्वाचन विरोधी गतिविधि जारी रहने बताउनुभयो ।
RSS