निर्वाचन आयोगले गरेको समानुपातिकमा एक प्रतिशत मतको प्राबधानमा दलहरु विभाजित

काठमाडौं । संविधानसभाको चुनावको तिथि घोषणा लगायतका विषयमा सरकारले विघटित संविधान सभामा रहेका दलहरुसँग छलफल गरेको छ ।

 

अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभा निर्वाचनको मिति, निर्वाचन कानुन र त्यसको तयारीबारे छलफल गर्न सिंहदरबारमा दलहरुको बैठक बोलाउनु भएको थियो । बैठकमा नेकपा-माओवादी बाहेक सबै दल सहभागी थिए ।

 

बैठकमा समानुपातिक सिटका सम्बन्धमा निर्वाचन आयोगले गरेको एक प्रतिशत मतको व्यवस्थाप्रति साना दलहरुले आपत्ति जनाए भने नेपाली कांग्रेस र नेकपा एमालेले त्यस्तो प्रावधान राख्नैपर्ने अडान लिएका थिए । एकीकृत माओवादीका नेताहरुले यसअघि एक प्रतिशतको प्रावधान राख्ने अडान लिए पनि आजको बैठकमा भने त्यस्तो प्रावधान आवश्यक नभएको बताएका थिए । दलहरुसंगको छलफलपछि सरकारले निर्वाचन आयोगले सिफारिस गरेको ऐन संशोधनको अध्यादेश राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरेको छ ।

 

 

निर्वाचन आयोगले संविधानसभा सदस्य निर्वाचन अध्यादेश २०६९ र निर्वाचन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०६९ सरकारलाई बुझाई सकेको छ ।

 

RSS