नवलपरासी । नेपाली कांग्रेसका नेताहरुले संविधानसभाको निर्वाचन मार्फत कांग्रेसकै नेतृत्वमा मात्रै मुलुकले सफलता पाउने दाबी गरेका छन् । नवलपरासीमा सुरु भएको महासमिति बैठकको उद्घाटन समारोहमा बोल्दै कांग्रेस नेताहरुले एकताबद्ध ढंगबाट अघि बढी अबको निर्वाचनमा पार्टीलाई बहुमत हासिल गराउने प्रतिबद्धता समेत गरे ।
सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति सुशील कोइरालाले कम्युनिष्टहरु जस्तो कांग्रेसले सिद्धान्तमा सम्झौता नगर्ने दाबी गर्दै महासमिति बैठकले कांग्रेसलाई अझ सशक्त बनाउने बताए ।
सभापति कोइरालाले संविधानसभा निर्वाचनमा स्थानीय स्तरबाट नै उम्मेदवारको नाम सिफारिस गर्न आग्रह गर्दैै स्थानीय तहमा आफू मिल्न नसक्ने र केन्द्रले बिगा-यो भन्ने प्रवृत्ति नदेखाउन कार्यकर्ताहरुलाई आह्वान समेत गरे ।
सभामा वरिष्ठ नेता शेरबहादुर देउवाले अव पनि जनताले माओवादीको पछि लाग्नुपर्ने कुनै कारण नभएको दाबी गरे । माओवादी आफैले २०५२ सालमा पेश गरेका मागहरु उसकै सरकारले पूरा गर्न नसकेकोतर्फ इंिगत गर्दै देउवाले माओवादीको भ्रमबाट जनता मुक्त भइसकेको जिकिर गरे ।
उपसभापति रामचन्द्र पौडेलले नेपालमा कम्युनिष्टहरुले समस्या थुपार्दै जाने र कांग्रेसले समाधान गर्दै जाने गरेको बताए । माओवादी अध्यक्ष प्रचण्डले मंसिरमा चुनाव हुन दिन्नौं भनेको तर्फ संकेत गर्दै पौडेलले माओवादीले संविधानसभाको निर्वाचन नचाहेको दाबी गरे ।
कांग्रेसले शासकीय स्वरुप र संघीयता लगायतका विषयमा लिएको अडानलाई जनताले छिट्टै अनुमोदन गर्ने दाबी पौडेलले गरे ।
सभामा कांग्रेस महामन्त्रीद्वय कृष्ण सिटौंला र प्रकाशमान सिंह, कोषाध्यक्ष चित्रलेखा यादव लगायतले कांग्रेसले मात्र जनताको समस्या समाधान गर्ने भन्दै कांग्रेसलाई बहुमतले जिताउन आग्रह गरे ।
उद्घाटन सभामा माओवादी एमाले लगायतका दलबाट ५ सय भन्दा बढीलाई सभापति कोइरालाले पार्टी प्रवेश गराएका थिए । सो क्रममा नवलपरासीमा सक्रिय एक भूमिगत समूह सभापति कोइरालामार्फत प्रमुख जिल्ला अधिकारीलाई हतियार बुझाई कांग्रेसमा प्रवेश गरेको थियो ।
सभाअघि नवलपरासीका विभिन्न स्थानबाट झाँकी सहितको जुलुसहरु निस्किएका थिए । महासमितिको बन्दसत्र मंगलवार बिहान नौ बजेदेखि त्रिवेणीधाममा सुरु हुँदैछ ।
RSS