सरकारद्धारा चालु आर्थिक वर्ष २०६९/७० का लागि ४ खर्ब ४ अर्ब ८२ करोडको समायोजित पूर्ण बजेट सार्वजनिक

काठमाडौं । सरकारले चालु आर्थिकवर्ष २०६९/७० का लागि ४ खर्ब ४ अर्ब ८२ करोड ४७ लाख रुपैयाँको समायोजित पूर्ण बजेट सार्वजनिक गरेको छ ।

 

चालु आर्थिकवर्ष सकिन ३ महिना मात्रै बाँकी रहँदा चुनावी सरकारले पूर्ण बजेट ल्याएको हो । सरकारले चालु खर्चतर्पm कुल बजेटको ६८ प्रतिशत बढि अर्थात २ खर्ब ७९ अर्ब १ करोड रुपैयाँ छुट्टयाएको छ ।

त्यस्तै पूँजीगत खर्चतर्फ ६६ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी वित्तिय व्यवस्थापनतर्पm ५९ अर्ब ६७ करोड विनियोजन गरिएको छ । सरकारले संविधानसभाको चुनावका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरेको छ भने चुनावी सुरक्षा प्रबन्धका लागि ८ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।


चालु आर्थिकवर्षमा तेस्रो पटक बजेट सार्वजनिक गरिएको हो । तर, पूर्ण आकारको बजेट भने यस पटक ल्याइएको हो । बजेट अध्यादेश सार्वजनिक गर्दै अर्थमन्त्री शंकरप्रसाद कोइरालाले समग्र आर्थिक गतिविधिलाई गतिशिलता प्रदान गर्न पूर्ण आकारको समायोजित बजेट ल्याइएको बताए ।


उनले निजी क्षेत्र आर्थिक विकासको संवाहक भएको भन्दै सरकार तीन खम्बे अर्थ नीतिलाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको पनि बताए ।


 
सरकारले कृषि उत्पादनलाई बढावा दिई आयात प्रतिस्थापनतर्फ केन्द्रित हुने नीति अवलम्ब गर्ने पनि जनाएको छ । उर्जा तथा यातायात र पूर्वाधारको क्षेत्रमा लगानी बढाउने र जलस्रोत क्षेत्रमा निजी क्षेत्रलाई लगानी गर्ने बातावरण बनाउने दाबी पनि सरकारले गरेको छ ।


आयात प्रतिस्थापन गर्न निकासीमैत्री नीति अबलम्बन गर्ने नीति सरकारले लिएको पनि अर्थमन्त्रीले बताए । मन्त्री कोइरालाले माछा पालक कृषकको लगानीको ५० प्रतिशत हिस्सा सरकारले व्यहोर्ने पनि बताए ।


यसअघि आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरी राष्ट्रपति डा. रामवरण यादव समक्ष पेश गरिएको थियो । राष्ट्रपतिले विनियोजित अध्यादेश, आर्थिक अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश राष्ट्रपतिबाट प्रमाणित भएपछि सरकारले राजश्व र व्यायको अनुमानित बजेट सार्वजनिक गरेको हो ।

 

RSS