गुण्डानाइके दीपक मनाङे भनिने राजीव गुरुङ पक्राउ

 – प्रतिमा बाँस्कोटा
गुण्डानाइके दीपक मनाङे भनिने राजीव गुरुङलाई वैंकिङ कसुर अभियोगमा मंंगलबार महानगरीय प्रहरीले पक्राउ गरेको छ । एक शर्मा थरका व्यक्तिका नाममा जारी गरेको २० लाख ५० हजार रुपैया बराबरको चेक बाउन्स भएपछि परेकेा उजुरीका आधारमा मनाङेलाई पक्राउ गरिएको हो । उनलाई हनुमानढोका हिरासतमा राखिएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक रणबहादुर चन्दले थप प्रारम्भिक अनुसन्धान गरी मनाङेलाई मुद्दा चलाउने बताए । 
सम्पति शुद्धिकरण विभागको हालसम्मको अनुसन्धानबाट झण्डै १२ करोड रुपैयाँ बराबर शंकास्पद धन कमाएको देखिएका मनाङेले यसअघि सार्वजनिक अपराध मुद्दामा डेढ वर्ष कैद सजाय भुक्तान गरिसकेका छन् ।
उक्त मुद्दा चल्दाचल्दै आफू गोर्खा निवासी राजीव गुरुङ भएको, प्रहरी प्रतिवेदनमा उल्लेख भएको दीपक मनाङे आफू नभएको दाबी गर्दै उनी सर्वोच्च अदालतको बन्दी प्रतक्ष्यीकरण आदेश पाउन सफल भए । 
त्यसपछि फरार रहेका उनलाई फेरि प्रहरीले प्रमाण पुर्‍याएर पक्राउ गरी कैद सजाय भुक्तान गर्न लगाएको थियो । लैनचौर प्रहरीले उनलाई मंगलबार दिउसो ठमेलबाट पक्राउ गरेको हो । व्यापारिक थलो ठमेल उनको आधारक्षेत्र मानिन्छ ।