चितुवाको आक्रमणबाट राष्ट्रपति घाइते

अफ्रिकीमुलुक बोट्सवानाका राष्ट्रपति इयान खामा चितुवाको आक्रमणमापरी घाइते भएका छन् । त्यहाँको सैनिक ब्यारेकमा रहेको चितुवालाई खाना दिने समयमा उक्त चितुवा फुत्केर बाहिर आएको र आफ्नो पञ्जाले नजिकै रहेका राष्ट्रपतिको अनुहारमा चिथोरेको बीबीसीले जनाएको छ ।

चितुवाको आक्रमणपछि राष्ट्रपतिको अनुहारमा टाँका लगाइएको छ । यो घटना यति छिटो भयो कि राष्ट्रपतिको सुरक्षार्थ खटिएका अंगरक्षकहरुले चितुवालाई रोक्नै भ्याएनन् ।

त्यहाँका सैनिक प्रवक्ता जेफ रामसेले यो हमला नभई एक दुर्घटना मात्रै भएको स्थानीय मिडियालाई बताएको जनाइएको छ । प्रवक्ताले यस घटनापछि राष्ट्रपतिलाई सामान्य चोट लागेको समेत जनाएका छन् ।

यस घटनापछि राष्ट्रपति खामा एक बैठकमा अनुहारमा पट्टी लगाएको अवस्थामा उपस्थित भएको देखिएको बीबीसीले उल्लेख गरेको छ ।
एजेन्सी