– प्रेमनारायण आचार्य
अर्घाखाँची । खुल्ला दिसामुक्त अभियानमा अर्घाखाँचीका सहकारीहरुले ऐक्यवद्धता व्यक्त गरेका छन् ।
अर्घाखाँचीको छत्रगञ्ज गाउँ विकास समिति वडा नं. ९ मा रहेको देउराली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई एक महिनाभित्र अनिवार्य रुपमा सुरक्षित शौचालयको निर्माण र प्रयोग गर्नुपर्ने लिखित जानकारी गराएको छ ।
सहकारी संस्थाको २०६९ माघको पहिलो साता बसेको बैठकले ऋण लगानी गर्दा शौचालय निर्माणलाई पहिलो प्राथमिकता दिनेसमेत निर्णय गरेको छ । समुदायका प्रत्येक व्यक्तिको स्वास्थ्य, गौरव र प्रतिष्ठासँग जोडिएको सरसफाइलाई उच्च प्राथमिकता दिएर हामीले आउँदो जेठ महिनासम्मलाई यस निर्णय गरेका हौं, सहकारी संस्थाका सचिव भरत घिमिरेले भने ।
गैरसदस्यहरुलाई ऋण प्रदान नगर्ने सहकारीको नीति भए पनि देउराली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शौचालय निर्माणका लागि गैरसदस्यहरुलाई समेत ऋण प्रदान गर्न सकिने निर्णय गरेको छ । यसैगरी, खुल्ला दिसामुक्त अभियानलाइ सफल बनाउनका लागि सहकारी संस्थाको तर्फबाट जनचेतनामूलक तथा दवावमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत सहकारी संस्थाको बैठकले गरेको छ ।