सर्वोच्च अदालतको कदमको सरकार, राजनीतिक दल र पत्रकारसम्वद्ध संघसंस्थाद्धारा विरोध

काठमाडौं । सञ्चारकर्मीलाई इजलासमा गई समाचार संकलनमा रोक लगाउने सर्वोच्च अदालतको कदमको सरकार, राजनीतिक दल र पत्रकारसम्वद्ध संघसंस्थाले विरोध गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको अघिल्लो दिन इजलास सुरक्षाका नाममा सर्वोच्च अदालतले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने गरी सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाएको भन्दै उनीहरुले त्यस्तो निर्णय तत्काल फिर्ता लिन समेत माग गरेका छन् ।
 प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री माधव पौडेलले सर्वोच्च अदालतले सञ्चारकर्मीलाई समाचार संकलनमा रोक लगाउन नहुने धारणा राख्दै त्यस विषयमा सर्वोच्च अदालतसँग जानकारी माग्ने बताए । कार्यक्रममा एकीकृत माओवादीका प्रवक्ता अग्नी सापकोटा र एमाले प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले पनि सर्वोच्च अदालतले सञ्चारकर्मीलाई निर्वाध रुपमा समाचार संकलन गर्न दिनुपर्ने बताए । 
यस्तै, नेपाल पत्रकार महासंघका महासचिव ओम शर्माले प्रेसमाथिको आक्रमण अहिले पनि नरोकिएको भन्दै सर्वोच्च अदालतले इजलासको खबर संकलनमा लगाएको रोक तत्काल खुलाउन पर्ने बताए । त्यसैगरी प्रेस चौतारी नेपालले पनि विज्ञप्ती जारी गर्दै इजलासमा समाचार संकलनमा रोक लगाउने कार्य प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको भन्दै फिर्ता लिन माग गरेको छ । रासस