माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा चिनियाँ गाडी अवैध रुपमा सञ्चालन

दोलखा  । दोलखाको लामबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा चिनियाँ गाडी अवैध रुपमा सञ्चालन गरिएको पाइएको छ । माथिल्लो तामाकोसीको सिभिल निर्माणको मुख्य ठेकेदार सिनो हाइड्रो कर्पोरेसनले यातायात व्यवस्था विभागमा दर्ता नै नगरी चिनियाँ गाडी संचालन गरेको हो । 
आयोजना स्थलमा करीब २ सय गाडीहरु नम्बर प्लेट विना नै सञ्चालन भईरहेका छन् । आयोजनाको सिभिल निर्माणका लागि सिनो हाइड्रोका २ वटा विभाग यहाँ रहेका छन् । आयोजना स्थलमा प्रयोग भईरहेका गाडीबारे नियामक निकायहरुसँग कुनै जानकारी नै रहेको छैन । निर्माण कम्पनीले विदेशबाट आयात गर्ने गाडीहरु यातायात व्यवस्था विभागको कार्यालयमा दर्ता गरेर अस्थायी नम्बर प्लेट लिनुपर्ने व्यवस्था रहेको छ । 
तर २ वर्ष वितिसक्दा पनि आयोजनामा विना नम्बरका गाडी संचालन भईरहेका छन् । यस्ता गाडीका चालक पनि चिनियाँ नै रहेको तर उनीहरुले समेत चालक अनुमति पत्र नलिएको पाइएको छ । जिल्लाका सुरक्षा निकायले समेत पटक पटकको सुरक्षाको दृष्टिकोणले पनि अस्थायी नंबर प्लेट राख्नुपर्ने बताएपनि चिनियाँ कम्पनीले अटेर गरेको बताइएको छ । सिनो हाइड्रोले सिक्टा सिचाइ आयोजना र कुलेखानी तेस्रोमा प्रयोग गरेका केही गाडी बाहेक अन्य गाडीहरु यातायात व्यवस्था विभागमा दर्ता नगरिएको बताइएको छ ।
RSS