पूर्व मूख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियारको प्रमुख आयुक्तमा नियुक्ति गरेपछि त्यसविरुद्ध निरन्तर विरोध प्रदर्शन जारी

काठमाडौं । पूर्व मूख्यसचिव लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्ति गर्न संवैधानिक परिषदले सिफारिश गरेपछि त्यसविरुद्ध निरन्तर विरोध प्रदर्शन भैरहेको छ । परिषदको सिफारिस रद्द गर्न माग गर्दै आज विहानैदेखि विभिन्न विद्यार्थी संगठनले राजधानी काठमाडौंका सडकहरुमा विरोध प्रदर्शन गरे । 



विद्यार्थीहरुले त्रिचन्द्र, रत्नराज्य, सरस्वती, पशुपतिलगायतका क्याम्पसमा नारा जुलुस गर्दै विरोध गरेका हुन् । उनीहरुले सडकमा टायर बालेर केहीबेर बाटोसमेत अवरुद्ध बनाएका थिए । कार्कीलाई नियुक्त गर्न गरिएको सिफारिस फिर्ता नलिएसम्म आन्दालन जारी राख्ने चेतावनी आन्दोलनकारीको छ ।



राष्ट्रपति डा. रामवरण यादवले पनि संवैधानिक परिषदले आफूसमक्ष ल्याएको सिफारिशबारे परामर्श थालेका छन् । परिषदले गरेको सिफारिशमध्ये कार्कीको नाममा मुलुक नै विभाजित भएपछि के गर्ने भन्नेबारे उनले परामर्श थालेका हुन् । यसैक्रममा राष्ट्रपति डा. यादवले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई आफ्नो कार्यालयमा बेलाएर अहिले छलफल गरे । उनले संविधान र कानूनविदहरुसँग पनि यसबारे छलफल गरिरहेका छन् ।



यसैबीच, कार्कीलाई अख्तियारको प्रमुख बनाउन संवैधानिक परिषदले सिफारिश गरेपछि रुष्ट बनेको नागरिक समाजले आज एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछ । प्रचण्ड संयोजक रहेको चार दलीय समितिले नै कार्कीलाई प्रमुख आयुक्त बनाउन सिफारिश गरेको थियो । नागरिक समाजका अगुवाहरुले प्रचण्डसँग उक्त सिफारिश फिर्ता गराउन आग्रह गर्दै कार्कीलाई प्रमुख बनाउनुको औचित्य पुष्टी गर्न माग गर्ने छन् ।



 तात्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा मूख्य सचिव रहेका कार्कीमाथि जनआन्दोलन दबाउन भूमिका खेलेको आरोप लागेको छ । त्यस्ता व्यक्तिलाई अख्तियार जस्तो संवेदनशील संवैधानिक निकायमा नियुक्ति गर्न सिफारिश गर्ने चार दलका नेताप्रति पनि नागरिकको आक्रोश चुलिँदै गएको छ ।



RSS