नवलपरासी । अनुमति विना र अनियमित रुपमा नवलपरासीमा सञ्चालित निजी विद्यालयहरुलाई जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्न शुरु गरेको छ ।
अनुमति र अनियमित तरिकाले सञ्चालन भएका विद्यालयहरुलाई बन्द गर्न निजी तथा आवासीय विद्यालय प्याब्सनले जिल्ला शिक्षा कार्यालयमामा लिखित उजुरी दिएपछि अनुगमन थालिएको हो । अनुमति विना सञ्चालित विद्यालयहरुलाई एक हप्ता भित्र बन्द गर्न अनुगमन टोलीले सम्बन्धित विद्यालयमा पुगेर निर्देशनसमेत दिएको छ ।
बैशाख मसान्तभित्र त्यस्ता विद्यालय बन्द नभए जेठको पहिलो सातादेखि बन्द गरिने बताइएको छ । एउटै कक्षामा ४० देखि ५० जना विद्यार्थी राखेर पढाउन थालिएकाले अनुगमनलाई तीब्र बनाइएको हो ।
अनुमति विना ३० वटा र ३४ वटाले तल्लो कक्षाको अनुमति लिई माथिल्लो तहको कक्षा सञ्चालन गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । नवलपरासीमा एकसय ७० विद्यालय भने जिल्ला शिक्षा कार्यालयमा दर्ता भई चलेका छन् ।
६४ विद्यालय अवैध तरिकाले चलेपनि शिक्षा कार्यालयले भने अहिलेसम्म एउटा विद्यालयलाई पनि कारबाही गरेको छैन ।
-RSS