काठमाडौं । एकीकृत नेकपा माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिको विरोध गर्नेहरुले संविधानसभा चुनावका लागि जारी प्रक्रियानै भाँड्न खोजेको आरोप लगाएको छ ।
आफैले सहमति जनाएको विषयमा विरोध गरेर नेपाली कांग्रेस र नेकपा एमालेले द्धैध चरित्र देखाएको भन्दै एकीकृत माओवादीले लोकमानको नियुक्तिको विरोधको कुनै औचित्य नभएको समेत जनाएको छ ।
आज पार्टी कार्यालय कोटेश्वरमा पत्रकारहरुसँगको नियमित भेटघाटको क्रममा प्रवक्ता अग्नी सापकोटाले चुनाव हुन नदिने उद्देश्यले लोकमानको नियुक्तिको विरोध भईरहेको आरोप लगाए ।
लोकमानको नियुक्तिको विरोध गर्नु झिंगालाई गोली हान्नु सरह हो भन्दै प्रवक्ता सापकोटाले कांग्रेस र एमालले चुनाव नचाहेको दाबी समेत गरे । चुनावको वातावरण बनाउनु सबैको दायित्व हुने उल्लेख गर्दै उनले आन्दोलनरत दलहरुसँग बाधा अडकाउ फुकाउ आदेशको खारेजी र बर्तमान सरकारको राजीनामा बाहेकका सबै विषयमा छलफल गर्न सकिने पनि बताए ।
प्रवक्ता सापकोटाले आन्दोलनरत दलहरुलाई वार्तामा आउन पनि आग्रह गरेका छन् ।
RSS