निर्वाचन आयोगद्धारा निर्वाचनका लागि तयारीलाई तीव्र

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनका लागि तयारीलाई तीव्र पारेको जनाएको छ । राजधानीमा रिपोर्टर्स क्लवले आयोजना गरेको कार्यक्रममा निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले दलीय सहमति, चुनावका लागि चाहिने कानुन, प्राविधिक र समग्र ब्यवस्थापनको काममा लागेको जनाए । दलहरु नमिलेसम्म संविधानसभाको निर्वाचन सम्भव नभएकाले दलहरुलाई मिलेर अगाडि बढ्न यादवले आग्रह गरे ।


चुनावको मिति तोक्नुअघि दलहरुले हातेमालो गरी अगाडि बढ्ने कसम खानुपर्नेमा यादवको जोड छ । आगामी निर्वाचनमा फोटोसहितको मतदाताले मात्र भोट खसाल्न पाउने यादवको भनाई छ । कार्यक्रममा भौतिक तथा योजना मन्त्री छविराज पन्तले निर्वाचनको विकल्प नभएको भन्दै दलहरुलाई तयारीमा लाग्न आग्रह गरेका छन् ।


सरकारले विकास निर्वाचनमा मात्रै झुण्डिँदा जनताका आवश्यकता अड्किने भएकाले त्यतातर्फ पनि ध्यान दिएको पन्तले बताए । सरकार असन्तुष्ट दलहरुसंग वार्ताका लागि तीव्र तयारीमा लागेकाले मंसिरमै निर्वाचन हुने विश्वास मन्त्री पन्तको छ ।


 कार्यक्रममा बोल्दै एमाले नेता अग्नि खरेलले एकीकृत माओबादी चुनावमा जान नचाहेका कारणले निर्वाचनको मिति तोक्न नसकिएको आरोप लगाए । यता, काँग्रेस केन्द्रीय सदस्य नारायण खड्काले वर्तमान सरकार चुनाव गराउन आएकाले चुनाव गराएर काम फत्ते गर्ने जनाउनुभयो । चुनाव गर्न नसके यो सरकार सत्तामा टिकिनरहने जनाए ।

 

rss