पूर्व पञ्चहरुका दुई पार्टी राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच एकता भएपछि मुलुकमा नयाँ शक्तिको उदय हुने दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको एकता महाधिवेशन राजधानीमा सुरु भएको छ । २०६१ सालमा विभाजित भएका पूर्व पञ्चहरुका दुई पार्टीबीच एकता भएपछि मुलुकमा नयाँ शक्तिको उदय हुने दाबी उनीहरुले गरेका छन् । महाधिवेशनले पार्टीको नयाँ नाम, नयाँ नीति र नेतृत्व चुन्ने छ ।


तीन दिनसम्म चल्ने महाधिवेशनमा ७५ वटै जिल्लाका दुई हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी भएका छन् । तर, एकता महाधिवेशनबाट अध्यक्षमा सूर्यबहादुर थापा रहने र चार सदस्यीय अध्यक्ष मण्डल बनाउन सहमति भने यसअघि नै भईसकेको छ ।


अध्यक्ष मण्डलको अध्यक्षमा राप्रपा अध्यक्ष पशुपति शमशेर राणा रहने छन् भने अध्यक्ष मण्डलमा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा र डा. प्रकाशचन्द्र लोहनी रहने सहमति बनेको छ ।


२०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अन्त्य गरेपछि सो व्यवस्था अन्तर्गत काम गरेका पूर्व पञ्चहरुले दुई वटा छुट्टाछुट्टै पार्टी गठन गरेका थिए । पछि तीन दुइ पार्टीबीच एकीकरण भएपनि २०६१ सालमा पुनः विभाजित भएका थिए ।


पूर्व पञ्चहरुकै ठूलो समूह भने कमल थापाको राप्रपा नेपालमा रहेका छन् । जुन यो एकता महाधिवेशनमा सहभागी छैन ।

 

RSS