शिक्षक परीक्षा आजबाट सुरु

काठमाडौं । शिक्षक सेवा आयोगले लिन लागेको शिक्षक परीक्षा आजबाट सुरु भएको छ। १७ वर्षपछि यस्तो परीक्षा हुन लागेको हो । बर्र्षौदेखि अस्थायी रुपमा अध्यापनरत र अध्यापन लाइसेन्स लिएका तर अध्यापनमा संलग्न नभएका ४ लाख ८० हजार ७ सय ५८ परीक्षार्थी आजदेखि परिक्षामा सहभागि भएका छन।


परीक्षाका लागि भन्दै अधिकांश विद्यालय बन्द समेत गरिएका छन् । परीक्षाका लागि १ हजार ८ सय ४७ केन्द्राध्यक्ष, ३ हजार ६ सय ९४ सहायक केन्द्राध्यक्ष, २ हजार ४ सय ३८ निरीक्षक, ७ हजार ३ सय ८८ सहयोगी कर्मचारी र सुरक्षाकर्मी १८ हजार ४ सय ७० परिचालन गरिएको छ ।


परीक्षाका लागि कुल जनशक्ति ५५ हजार ४ सय ३७ परिचालन हुने आयोगका उपसचिव नारायण भटट्राईले जानकारी दिनुभयो । परीक्षालाई अव्यवस्थित र अमर्यादित बनाउने निरीक्षक, केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्षलाई निष्कासन गर्ने, ६ महिनासम्म थुना राख्ने वा १ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था निर्देशिकामा कायम गरिएको छ ।


माध्यमिक तहको आज, निम्न माध्यमिकको भोलि र प्राथमिक तहका शनिबार परीक्षा हुँदैछ । तिनै तहको परीक्षा दिउँसो २ बजेदेखि ५ बजेसम्म हुनेछ । माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहका लागि १३ हजार ५९ जनाको कोटामा ४ लाख ८० हजार ७ सय ५८ जना प्रतिस्पर्धीले निजामती सेवाका कर्मचारीको सुपरिवेक्षणमा परीक्षामा सामेल हुनेछन् ।

 

rss