ताप्लेजुङल- कञ्चनजंघा हिमाल आरोहण गरेर फर्किएको ३ विदेशीसहित ५ जनाको हिम पहिरोमा परेर ज्यान गएको छ। ज्यान गुमाउनेमा हगेंरीका दुई,कोरियन एक तथा नेपाली दुई गरी ५ जनाको ज्यान गएको याम्फुदिनबाट सदरमुकाम आइपुगेका कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का सदस्य अबिरमान राईले जानकारी दिए।
उनका अनुसार ज्यान गुमाउनेमध्ये अहिलेसम्म दुई नेपालीको मात्र सनाखत भएको छ। संखुवासभाका दिवस गुरुङ तथा सोनाम शेर्पाको मात्र सनाखत भएको राईको भनाइछ। ५ जनाको शव नै आफूले देखेको अप्ठ्यारो ठाउँमा भएका कारण उद्दार गर्न गाह्रोभएको सोहीआरोहण दलमा रहेका भरियाले आफूलाई जानकारी गराएको याम्फुदिन गेष्ट हाउसका सञ्चालक छिरिङ शेर्पाले जानकारी दिए।
जानकारी दिने भरियाको नाम आफूले बिर्सेको तर उनीहरुमध्ये गुरुङ छोयु ट्रेकिङ एजेन्सी तथा बाँकी ४ जना सेभेन ट्रेकिङ एजेन्सीबाट आरोहण दलमा सक्रिय भएको उनले बताए। कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले घटनाबारे आफूहरु कहाँपनि जानकारी आएको तर घटनाको स्वतन्त्र पुष्टिहुन बाँकी रहेको बताएको छ। परिषद्का अध्यक्ष खगेन्द्र फेम्बो लिम्बुले घटनाबारे आफ्ना निकायमा सम्पर्कको प्रयास भए पनि चिसो र धुम्म मौसमका कारण पर्याप्त जानकारी आउन नसकेको बताए।