काठमाडौं । चार दलका नेता रहेको उच्चस्तरीय राजनीतिक समितिको बैठक आज पनि निष्कर्षविहीन भएको छ । संविधानसभा निर्वाचन ऐनसँग सम्बन्धित विवाद हल गर्न भनेर बानेश्वरमा एकीकृत माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका नेताहरु छलफलमा बसेपनि त्यत्तिकै सकिएको हो ।
बैठकमा संविधानसभामा समानुपातिका प्रतिनिधित्वका लागि चाहिने मतको सीमा थ्रेस होल्ड, समानुपातिक सिट संख्या, दल दर्ताका लागि आवश्यक हस्ताक्षर संख्या, उम्मेदवारले बुझाउनुपर्ने सम्पति विवरणलगायत विषयमा सहमतिको प्रयास हुने बताइएको थियो । तर नेताहरुले आजपनि कुनै सहमति गरेनन् र बैठक त्यत्तिकै टुंग्याएका हुन् ।
हिजो सरकारसँगको छलफलमा चुनावका लागि आवश्यक ऐन, कानूनको टुंगो लगाएर चाँडै चुनावको मिति तोक्नेबारे सहमति गरिएको थियो । कांग्रेस र एमाले ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ सहमति तथा निर्वाचन आयोगको प्रस्तावअनुसार निर्वाचन कानून पारित गरिनुपर्ने पक्षमा छन् । एमाओवादी र मोर्चा मतको सीमा नराख्ने, फोज्दारी अभियोग लागेकालाई पनि चुनाव लड्न दिनुपर्ने, संविधानसभाको आकार बढाउनुपर्ने पक्षमा छन् ।