“ईच्छुक” लाई उचित सम्मान दिन माओवादी निकट अर्घाखाँचीका पत्रकार संगठनद्धारा राज्यको ध्यानाकर्षण

– राम खड्का

 

अर्घाखाँची – एकिकृत नेकपा माओवादी र नेकपा माओवादी निकटका पत्रकार संगठन, पार्टी कमिटि र साहित्य स्रष्टाहरुले देशव्यापी रुपमा साताव्यापी कार्यक्रम गरि ११ औं सांस्कृतिक वलिदान दिवस मनाई रहँदा कृष्णसेन इच्छुकका छिमेकीहरुले भने कृष्णसेन इच्छुकलाई राज्य र दलहरुले वेवास्ता गरेको भन्द,ै तत्काल शहिद घोषणा गरि उचित सम्मान दिन राज्यको ध्यानाकर्षण गराएका छन् ।


कृष्ण सेन इच्छुक को ११ औं पुण्य तिथिको अवसरपारी क्रान्तिकारी पत्रकार महासंघ मगरात र थारुवान राज्य समितिको आयोजनामा कृेष्ण सेन इच्छुकको घर दाङ र अर्घाखाँचीको दोसाँध भालुवाङ्ग सातमारामा सेनको स्मृतिमा आयोजित राष्ट्रिय स्वाधिनताको पक्षमा संचारकर्मी र सांस्कृतिक कर्मीको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय वासीन्दाहरुले मूलुकको परिवर्तनको लागि सर्वस्व गुमाएका सेनलाई राज्यले वेवास्ता गरेको भन्दै ,सेनको योगदानको उच्च कदर गरि उहाँको नाममा प्रतिष्ठान, संग्रालय विश्वविद्यालय संचालन गर्नुपर्ने बताए ।


साहित्यकार तथा पत्रकार स्वर्गीय सेनको नामलाई दलहरुले मागिखाने भाँडो बनाउन थालेको भन्दै ,सेन सवैको शहिद र जनताको दु:खको साथी भएको बताए । कार्यक्रममा मन्तव्य राखनेक्रममा नेकपा माओवादी थारुवान राज्य समितिका इन्चार्ज पूर्ण बहादुर घर्ति आयाम मन थाम्न नसकी हँुक्का छोडी रोएपछि आधा दर्जनभन्दा वढि माओवादीका नेता तथा सयौं स्थानीयजनता र दर्जनौ पत्रकारका आँखा पनि रसाएका थिए ।


कृष्णसेनका वाल्यकालका साथी र सहपाठी दामोदर भण्डारी, वालकर्ण के.सी., धर्मराज अधिकारी, यज्ञ बहादुर डाँगीले कृष्णसेनको मृत्युले सिंगो गाउँ अध्यारेमा छोपिएको भन्दै गाउँको ज्योति नै गुमाएको पिंडा पोख्नुभयो ।

नेपाली कांग्रेसका स्थानीय नेता नुमानन्द सुवेदी, एमालेका किरण भण्डारी, राष्ट्रिय जनमोर्चाका केशवराज खनाल र एमाओवादीका तिर्थ खनालले कृष्णसेनका हत्याराहरुलाई कडाभन्दा कडा कारवाहीको माग गर्नुभयो । कृष्णसेनलाई कुनै पार्टी र पक्ष विशेषको विचमा सिमित गर्न नहुने उहाँहरुको माग थियो ।


कृष्णसेनको स्मृतिमा अन्तरक्रिया कार्यक्रम गर्न पुगेका पत्रकारहरुलाई सयौं जनताको एउटै आग्रह थियो कृष्णसेन सर्वगुण सम्पन्न ,बत्तीस लक्षणले युक्त मान्छे थिए, हाम्रो मुटुको धडकन थिए, यिनले अमरत्व प्राप्त गरुन, हामी बोलेर कसैले सुन्दैन संचार माध्यममा कुरा उठाई दिनुहोस् । स्थानीय वासिन्दाले कृष्णसेनको सालिक बनाउन र स्मारिका प्रकाशनको लागी पहल गर्न पनि पत्रकारहरुलाई आग्रह गरे ।


कार्यक्रममा मन्तव्य राख्दै नेकपा माओवादीका पोलिटव्यूरो सदस्य नारायण शर्माले जनताको मुक्तिको लागि कलम चलाउने कृष्णसेन सधै अमर रहने बताउनु भयो । कृष्णसेनका अधुरा सपना पुरा गर्न कुनै कसर बाँकी नराख्ने उहाँको भनाई थियो ।


नेकपा माओवादीका केन्द्रिय सदस्य महेश्वर दाहाल र माओवादी मगराँत राज्य समितिका इन्चार्ज सन्तोष बुढामगर, थारुवान राज्य समितिका इन्चार्ज पूर्ण बहादुर घर्ती आयाम, माओवादी केन्द्रिय सदस्य धनिश्वर पोख्रेल, भेषराज भुसाल र चुरामणी ओली आदर्श ले मुलुकको राष्ट्रिय अखण्डता गंभिर संकटमा परेको बताउँदै, नेपाली पहिचान र राष्ट्रिय स्वाधिनताको लागि कलम चलाउन संचारकर्मीलाई आग्रह गर्नुभयो ।


क्रान्तिकारी पत्रकार महासंघ मगरातका अध्यक्ष शोभाखर पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रगतीशिल पत्रकार संघका केन्द्रिय कोषाध्यक्ष महेश रिजाल, प्राध्यापक श्रीधर अधिकारी, रेखीराम राना लगायतले मन्तव्य राख्नुभएको थियो ।

 


Copyright 2013 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten or redistributed.

अर्घाखाँचीडट्कमलाई सहयोग गर्न तल देखिने विज्ञापनहरुमा बारम्बार क्लिक गर्नुस्।



c



अन्य समाचारहरु