ठाकुरसिंह थारु
बाँके – स्ववियु निर्वाचन स्थगित भएको विषयलाई लिएर नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा एमाओवादी र माओवादी निकट विद्यार्थी संगठनबीच कुटाकुट भएको छ ।
शुक्रबार बिहान भएको कुटाकुटमा दुई पक्षका चार विद्यार्थी घाइते भएका छन् । एमाओवादी निकट अखिल क्रान्तिकारीका रविन केसी, सुदिप शर्मा, माधव शर्मा र माओवादी निकट अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष धर्मराज बडुवाल घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचार भेरी अञ्चल अस्पताल र शिक्षण अस्पतालमा भइरहेको विद्यार्थीले बताए ।
स्ववियु निर्वाचन स्थगित भएपछि एमाओवादी निकटका विद्यार्थीले बिहिबार क्याम्पसमा ताला लगाएर कोणसभा गरेका थिए । विरोधमा उत्रिएका उनीहरुले साँझ आफैं ताला खोलेर शुक्रबार बिहान फेरी क्याम्पस अगाडि एक घण्टा चक्काजाम गरेका थिए ।
तर माओवादी निकट बिद्यार्थीले स्ववियु निर्वाचन एमाओवादीका कारण स्थगित भएकाले विरोध गर्न कुनै तुक नरहेको बताएपछि कुटाकुट भएको थियो । उक्त घटनापछि शुक्रबार दिनभर क्याम्पसमा तनाव छायो । दुई पक्षका बिद्यार्थीले ईटा, लाठी बोकेर लखेटालखेट गरेका थिए ।
बिद्यार्थीबिच दुई पल्ट कुटाकुट भएपछि अवस्थालाई नियन्त्रण लिन प्रहरीलाई धौधौ भएको थियो । शक्ति प्रदर्शन गर्न दुई पक्षका बिद्यार्थीले क्याम्पसमै पुर्व लडाकु र वाईसीएल बोलाएर राखेको प्रत्यक्षदर्शी बिद्यार्थीले बताए । उनीहरुबीच पनि विवाद हुन थालेपछि अवस्था निकै असज बनेको थियो ।
नेपालगन्ज वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबहादुर केसी नेतृत्वको प्रहरी टोलीले उनीहरुलाई क्याम्पस हाता भित्रबाट बाहिर निकालेपछि अपि्रय घटना हुन पाएन ।
‘एमाओवादीका बिद्यार्थीहरुको भुमिका आफै बोक्सी आफैं धामी भएजस्तै भयो । निर्वाचन स्थगित गर्ने अनि क्याम्पसमा बिद्यार्थीलाई पढ्न नदिएर बिरोध गरेकाले त्यसो नगर्न भनेका हौँ,’ माओवादी निकट अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष धर्मराज बडुवालले भने,’उनीहरु हामीमाथि आक्रमण गरेपछि प्रतिकार गर्यो ।’
तर एमाओवादी बिद्यार्थी संगठनबाट स्ववियु सभापतिका उम्मेद्वारी दिएका सुर्य घर्तीले केन्द्रीय कार्यक्रम अनुसार गरिरहेको विरोधको कार्यक्रम माआवादीका बिद्यार्थीले बिथोलेको आरोप दाबी गरे । ‘हाम्रो कार्यक्रममा हस्तक्षेप गरेपछि त्यसो नगर्न भनेका हौँ तर आक्रमण गरियो,’ उनको दाबी छ ।
स्ववियु सभापति रामवहादुर विकले स्ववियु निर्वाचन स्थगन भएको विषयमा भएको विवाद बढ्दै जाँदा झड्पमा परिणत भएको बताए । उनले विद्यार्थीवीचको विवाद समाधानका लागि प्रयास भइरहेको बताए ।