दोलखाको चरिकोट बजारमा एमाओवादीद्धारा शक्ति प्रदर्शन

चरिकोट – नेपाली कांग्रेस र एमा‌ओवादीबीच जिल्ला प्रशासन कार्यालयमा वार्ता भएर सहमति भएपछि शान्त भएको दोलखाको चरिकोट बजारमा अहिले एमाओवादीले शक्ति प्रदर्शनको तयारी गरिरहेको छ। हिजो कांग्रेस र एमाओवादीबीच दुवै पक्षले आगामी दिनमा कुनै किसिमको दुश्मनी नसाध्ने सहमति भएपछि हिजै कांग्रेसले गरेको अनिश्चितकालिन दोलखा बन्द फिर्ता गरेको थियो।

तर आज एमाओवादीले आफ्नो शक्ति प्रदर्शन गर्ने भनेर काठमाडौं र छिमेकी जिल्लाबाट मोटरसाइकलमा वाइसिएल झिकाएपछि तनावको स्थिति आउन लागेको नेपाली कांग्रेसका नेताहरुले आरोप लगाएका छन्।
 
तर एमाओवादीका जिल्ला नेता विशाल खड्काले भने प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । उनले भने,’हामीले हिंसात्मक आन्दोलन गर्न लागेका हैनौं । हाम्रो प्रदर्शन शान्तिपूर्ण हुन्छ।’

जिल्ला प्रहरी कार्यालयका डिएसपी ओम अधिकारीले पनि एमाओवादीले गर्न लागेको प्रदर्शन शान्तिपूर्ण हुने खबर आएको बताए।

यता नेपाली कांग्रेसले भने शक्ति प्रदर्शन गर्ने भन्दै एमाओवादीले फेरी झडपको अवस्था सिर्जना गर्न लागेको आरोप लगाएको छ। कांग्रेसका जिल्ला सभापति ताराबहादुर कोइरालाले एमाओवादी हामीमाथि जाइ लागे प्रतिकारमा उत्रने बताए।

आइतबार प्रहरीको गाडी कब्जामा लिई त्यसभित्र भएका आफ्ना कार्यकर्ता सानु शेर्पामाथि वाइसिएलले साङ्घातिक आक्रमण गरेको कांग्रेसले आरोप लगाएपछि दुइदिन चरिकोट तनावग्रस्त बनेको थियो।

 

rss