टर्की । टर्कीको इस्तानबुलस्थित ताक्सिम स्वायरमा रहेको गेजी पार्कसंगै शपिङमल बनाउने सरकारको निर्णय बिरुद्ध भएको प्रदर्शनमा ट्रेड युनियनहरुले पनि साथ दिएका छन् । बामपंन्थी केस्क ट्रेड युनियन कन्फिडेरेशनले सरकारले राज्य आतंक सिर्जना गर्न खोजेको भन्दै प्रदर्शनकारीको समर्थनमा देशब्यापी आम हडताल शुरु गरेको छ ।
सो युनियन सम्बद्ध २ लाख ४० हजार मजदुरहरुले दुईदिनसम्म प्रदर्शनकारीलाई सडकमा साथ दिने भएका छन् । राजधानी अंकारा र इस्तानबुल लगाएत टर्कीका ६७ वटा शहरमा एकैसाथ प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्र्मीबीच ठाउँ ठाउँमा झडप समेत भएको छ । प्रदर्शन नियन्यणका लागि प्रहरीले अश्रुग्याँस प्रहार गर्नुका साथै लाठी चार्ज समेत गरेको छ ।
झडपकै क्रममा दुईजना प्रदर्शनकारीको मृत्यु भएको छ । कयौं प्रदर्शनकारी घाइते भएका छन् भने हजारौ भन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ । यसैबीच मोरोक्को भ्रमणमा रहेका टर्कीका प्रधानमन्त्री रिजेप ताईप अर्दोगानले प्रदर्शन आतंकबादको नमुना भएको भन्दै यसको जिम्मेवारी बिपक्षीदलले लिनुपर्ने बताउनुका साथै हाललाई प्रदर्शन मत्थर भइसकेको जनाएका छन् । यता ग्रीसले पनि टर्कीका जनताको माग जायज भन्दै एथेन्समा टर्की सरकार बिरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा ठाउँ ठाउँमा झडप भएको छ ।
एजेन्सी