वर्षासँगै अकस्मात् झाडा बान्ताको प्रकोप फैलिएपछि नेपालगञ्जमा ६० भन्दा बढी बिरामी अस्पताल भर्ना भएका छन् । बिरामी हुनेहरुमा नगरवासीहरु बढी छन् ।
शुक्रबार र शनिबार भेरी अस्पतालमा २९ र नेपालगञ्ज शिक्षण अस्पतालमा ३३ जना भर्ना भएका छन् । बिरामीको संख्या बढे पनि हालसम्म कसैको मृत्यु नभएको अस्पताल स्रोतले बतायो । तीन वर्षअघि पनि नेपालगञ्चमा यसैगरी हैजाको महामारी फैलिएको थियो । त्यसबेला तीनभन्दा बढीको निधनसमेत भएको थियो ।
लामो समय पानी नपरेको र यसै साताबाट बषर्ा भएलगत्तै नेपालगन्जमा झाडापखालाको प्रकोप देखिएको हो । बर्षा भएपछि पानीमा प्रदुषण फैलिएको हुन सक्ने र दुषित खाने पानीकै कारण झाडा पखालाको प्रकोप देखिएको हुनसक्ने भेरी अञ्चल अस्पतालका मेडिकल सुप्रीण्टेण्डेन्ट डा. पिताम्बर सुबेदीले जानकारी दिनुभयो । उहाँले अस्पतालमा उपचारका लागि आउने बिरामीहरुमा अधिकांश बालबालिका रहेको बताउनुभयो ।
अहिले देखिएको झाडापखाला औषधी सेवन गरेलगत्तै निको नहुने र केही निको भएजस्तो देखिए पनि पुनः र्फकने गरेको बिरामीका आफन्तहरुले बताएका छन् ।
झाडापखालाबाट बच्नको लागि सरसफाई तथा पिउने पानी उमालेरमात्र पिउने र स्वच्छ पानी पिउन डा. सुवेदीले सर्वसाधारणलाई आग्रह गर्नुभएको छ । बर्षासंगै झाडा पखालाको प्रकोप देखिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले बिरामीको दिसाको नमूना संकलन गरी परीक्षणका लागि काठमाण्डौ पठाएको जानकारी दिएको छ ।
माहामारी तथा रोग नियन्त्रण महाशाखाका फोकल पर्सन रामबहादुर चन्दले परीक्षण रिपोर्ट प्राप्त नभएकाले झाडापखालाको कारण भने अझै खुल्न नसकेको बताउनुभयो । उहाँले विरामीको बासस्थानको पहिचान गरी उनीहरुले प्रयोग गर्दै आएको खानेपानीको स्रोतबाट पनि नमूना लिएर जाँचको लागि पठाउने बताउनुभयो । बिरामीमध्ये ४ जनाको दिसाको नमूना काठमाण्डौ पठाइसकेको जानकारी दिनुभयो । उहाँले प्रकोपको रुपमा फैलिन नदिनका लागि औषधिसमेतको माग भएमा जनस्वास्थ्यले पूर्ति गर्न सक्षम भएको बताउनुभयो ।