जुम्ला । जुम्लामा कांग्रेस र एकीकृत माओवादीबीचको झडपले तनावको स्थिति भएपछि सांझ ५ बजेसम्मको लागि कफ्र्यु आदेश जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले आज सांझ पांच बजेसम्मको लागि पुनः कफ्र्यु आदेश जारी गरेको हो । हिजो रातीदेखि आज बिहान पांच बजेसम्मको लागि निशेधाज्ञा जारी गरिएकोमा आज बिहान एक घण्टा खोलेर पुन सांझ पांच बजेसम्मको लागि कफ्र्यु थप गरिएको हो ।
नेकपा माओवादी र नेपाली कांग्रेस बीच गत २६ र २७ गते भएको झडपको बिषयलाई लिएर जुम्लामा तनाव उत्पन्न भएको छ । नेपाली कांग्रेसका कार्यकर्ता घनश्याम थापा र नेकपा माओवादीका मनोज बुढामगरबीच भएको बिवादपछि तनावको अवस्था उत्पन्न भएको प्रहरीले जनाएको छ ।
दुई दलबीच झडप हुन सक्ने देखिएकाले कफ्र्यु लगाएको स्थानिय प्रशासनले जनाएको छ । एरपोर्टदेखि पश्चिम, जुम्ला बहुमुखी क्याम्पसदेखि दक्षिण, ट्राफिक प्रहरी कार्यालयदेखि पूर्व र छिना सांघुदेखि उत्तरको क्षेत्रमा कफ्र्यु आदेश जारी गरिएको छ ।
प्रशासनले कफ्र्यु लगाएपछि जुम्लाको जनजीवन कष्टकर बनेको छ । बिहान सञ्चालन भईरहेका बिद्यालय स्तरिय परिक्षा समेत कफ्र्युको कारण प्रभावित बनेको छ । जुम्लामा नेपालगञ्ज र सुर्खेतबाट मद्धतका लागि थप प्रहरी परिचालन गरिएको छ ।
रासस