चुनावी सरकार द्वारा ७ सचिव र १० प्रहरी डीआईजीको सरुवा

चुनावी सरकारले सचिव र प्रहरी अधिकारीको सरुवा गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले ७ जना सचिव प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरेको हो । बैठकले जल तथा ऊर्जा आयोगका विश्व प्रकाश पण्डितलाई ऊर्जा मन्त्रालयमा, ऊर्जा मन्त्रालयका सचिव हरेराम कोइरालालाई उपराष्ट्रपति कार्यालयमा सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री माधवप्रसाद पौडेलले बताए ।
बैठकले वन तथा भूसंरक्षण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेललाई जल तथा ऊर्जा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव गणेशराज जोशीलाई वन मन्त्रालय, बाणिज्य मन्त्रालयका सचिव लालमणि जोशीलाई गरिवी निवारण तथा सहकारी मन्त्रालय सरुवा गर्ने निर्णय गरेको छ ।
त्यस्तै, मध्यपश्चिम विकास क्षेत्रका क्षेत्रीय प्रशासक शारदप्रसाद त्रिताललाई राष्ट्रपति कार्यालय, पूर्वाञ्चल प्रशासक जनार्दन नेपाल बाणिज्य मन्त्रालयमा सरुवा गरिएको छ । नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा उपमहानिर्देशक जगदीशचन्द्र लालको बढुवा गरिएको मन्त्री पौडेलले जानकारी दिए ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको पनि सरुवा गरेको छ । गृह मन्त्रालयको सिफारिसमा वैठकले पूर्वाञ्चलमा उपेन्द्रकान्त अर्याल, पश्चिमाञ्चल क्षेत्रमा सुरेन्द्रबहादुर शाह, मध्यमाञ्चलमा बिज्ञानराज शर्मा, मध्यपश्चिमाञ्चलमा राजेन्द्रसिंह भण्डारी र सुदुरपश्चिमाञ्चलमा नारायण बस्ताकोटीको सरुवा गरेको हो ।
बैठकको निर्णय अनुसार ट्राफिक प्रहरी महाशाखामा केशब अधिकारी, त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा गोपाल भण्डारी, केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) मा प्रकाश अर्याल, प्रतिआतंकवाद निर्देशनालयमा बमबहादुर भण्डारी र प्रहरी प्रधान कार्यालयमा नवराज सिलवाल आएका छन् ।