आन्द्रामा घाउ देखिएकोले राष्ट्रपतिलाई जापान लैजाने प्रक्रिया सुरु

सरकारले राष्ट्रपति रामवरण यादवलाई जापान लैजाने प्रक्रिया सुरु गरेको छ ।
भिषा प्रक्रियाका लागि अमेरिकी र जापानी दूतावासमा पत्राचार गरेको परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ । ‘स्वास्थ्य र परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने, ‘लगभग जापानकै सम्भावना बढी छ ।’
अस्वस्थ्य भएपछि गरिएको मेडिकल परीक्षणमा राष्ट्रपतिको ठूलो आन्द्रामा घाउ देखिएको छ । राष्ट्रपतिले शुक्रबार त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए भने शनिबार बिहान धापासीस्थित ग्रान्डी अस्पतालमा सिटी स्क्यान गरिएको थियो ।
प्रेस सल्लाहकार दाहालका अनुसार राष्ट्रपति अहिले पनि दैनिक कामकाजमा छन् । ‘उहाँको अहिलेको स्वास्थ्य नर्मल नै छ,’ उनले भने, ‘दैनिक काम गरिरहनुभएको छ ।’