नयाँदिल्ली । भारतको उत्तराखण्ड राज्यमा भीषण वर्षापछि आएको बाढीले जनजीवन पूरै अस्तव्यस्त भएको छ ।
देहरादुनमा पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । पहिरोमा अरु धेरै फसेको आशंका गरिएकाले मृतकको संख्या अझै बढ्न सक्ने छ । बाढी पहिरोका कारण गढवालका चार धाम, गंगोत्री, यमुनोत्री, बद्रीनाथ र केदारनाथ यात्राका मार्ग बन्द हुँदा दुई हजारभन्दा बढी तीर्थयात्री फसेको समाचारमा जनाइएको छ ।
उनीहरुको उद्धारको प्रयास भैरहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । केही यात्रुको मृत्यु भएको आशंका गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
शहरमा सडकहरु पूरै जलमग्न भएका छन भने सञ्चार सेवा अवरुद्ध भएको बताइएको छ । राज्य सरकारले राहत र उद्धार भैरहेको जनाएको छ । देहेरादुनमा सन् १९२५ को रेकर्ड तोड्दै पछिल्लो २४ घण्टामा २ सय २० मिलिमिटर वर्षा भएको त्यहाँको मौसम विभागले जनाएको छ । त्यस क्षेत्रमा आगामी ३६ घण्टा अझै भीषण वर्षा हुने बताइएको छ ।
AGENCIES