बाढी प्रभावित क्षेत्रहरुको निरीक्षण गर्न अध्यक्ष खिलराज रेग्मीसहितको टोली दार्चुलामा, ३ हजार व्यक्ति बाढीबाट प्रत्यक्ष प्रभावित

कैलाली । बाढी प्रभावित क्षेत्रहरुको निरीक्षण गर्न मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसहितको सरकारी टोली आज दार्चुला पुगेको छ । रेग्मीले दार्चुला सदरमुकाममा बाढीले पु-याएको क्षतिको निरीक्षण गरी राहत वितरण तीब्र पार्न सरकारी निकायहरुलाई निर्देशन दिएका छन् ।

 

दार्चुला, कञ्चनपुर, कैलाली, अछाम, बैतडी, दैलेख र कालिकोटमा बाढी, पहिरोबाट जनधनको ठूलो क्षति हुँदासमेत सरकार उदासीन भएको गुनासो बढेपछि अध्यक्ष रेग्मी आफै निरीक्षणका लागि पुगेका हुन् ।

रेग्मीसँग गृहमन्त्री माधवप्रसाद घिमिरे, भौतिक योजना तथा पूर्वाधार मन्त्री छविराज पन्त, गृह सचिव नवीन घिमिरेलगायतको टोली रहेको छ ।


सरकारी टोलीले कञ्चनपुर र कैलालीको बाढी प्रभावित क्षेत्रको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । सुदूरपश्चिमका बाढी प्रभावित क्षेत्रमा अहिले पनि उद्दार र राहत वितरण जारी छ ।

 

महाकाली नदीमा आएको भीषण बाढीले सबैभन्दा बढी दार्चुलामा तीन हजार व्यक्ति बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन् । दार्चुलाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी अधिकारीका अनुसार तीन सय ५० भन्दा बढी घर परिवार घरवारविहीन बनेका छन् । १३ सरकारी भवन, १०१ वटा पक्की घर, २७ वटा सुकुम्वासीका टहरा, चार वटा मठ मन्दिर बाढीमा बगेका छन् ।

 

ब्यापक क्षति ब्यहोरेका दार्चुलाका पीडितहरुले समयमै उद्धार र राहतमा ढिलाई गरेकामा आक्रोश व्यक्त गरेका छन् । यद्यपि, सरकाले राहत सामग्री भने दार्चुला पु-याउन थालेको छ ।

 

यसअघि हिजो सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरुका परिवारलाई प्रतिब्यक्ति ४० हजार रुपैयाँ राहत दिने निर्णय गरेको थियो । विपद् व्यवस्थापनबारे सरोकारवालाहरुसँग हिजो बैठक गरी सरकारले बाढी पहिरोबाट धेरै प्रभावित ११ जिल्लामा तत्काल काम थाल्ने निर्णय गरेको थियो ।

 

महाकाली, कर्णाली, गण्डकी, सेती जस्ता ठूला नदीमा आएको भीषण बाढीले नदी आसपासका वस्तीहरुमा व्यापक क्षति पु-याएको थियो । पश्चिम नेपालमा आएको बाढीपहिरोमा १८ जनाको मृत्यु भएको र २५ जना वेपत्ता भएको तथ्यांक सरकारको छ ।

 

RSS