ब्राजिलमा सार्वजनिक यातायातमा गरिएको भाडा वृद्धिको विरोधमा प्रदर्शन जारी छ ।
अधिकारीहरुले सार्वजनिक यातायातमा गरिएको भाडा वृद्धिको निर्णय फिर्ता गर्ने जनाए पनि प्रदर्शनकारीहरुले राजधानी ब्राजिलियाका मुख्य सडकहरु अवरुद्ध पारेका छन् । सरकारले निर्णय फिर्ताको घोषणा लगत्तै रियो दि जेनेरियोमा प्रदर्शनकारी र दंगा प्रहरीबीच झडप भएको छ ।
प्रदर्शनकारीहरु बढ्दो भ्रष्टाचार र अर्को वर्ष आयोजना हुने विश्व कप फुटबल र सन् २०१६ को ओलम्पिक आयोजनाका लागि गरिएको उच्च खर्चको विरोध गरिरहेका छन् । प्रदर्शनमा लाखौं मानिसको सहभागिता रहेको बताइएको छ ।
गत जुन २ मा गरिएको सार्वजनिक यातायातको भाडा वृद्धिपछि प्रदर्शन शुरु भएको हो । ब्राजिलमा बढ्दो भ्रष्टाचार, कमजोर स्वास्थ्य र सुरक्षा सेवा र महंगिदो जीवन स्तरका कारण पनि जनतामा निराशा बढ्दै गएको छ ।
Agencies