निर्वाचन आयोगद्धारा असन्तुष्ट दलहरुको मागको सम्बन्धमा भदौअघि किनारा नलागे चुनावी कार्यतालिका प्रभावित हुन सक्ने चेतावनी

निर्वाचन आयोगले मंसीर चार गतेका लागि तय भएको संविधानसभाको दोस्रो निर्वाचन गराउन साउन मसान्तभित्र राजनीतिक सहमतिको वातावरण बनिसक्नु पर्नेमा जोड दिएको छ।


आयोगले बुधवार सतारुढ मुख्य चार शक्ति र असन्तुष्ट दलहरुलाई आफ्नो कार्यालय बहादुर भवन बोलाएर चुनावका लागि विवादित विषयमा चांडै सहमति गर्न आग्रह गरेको हो।


आन्दोलनरत मधेशी जनअधिकार फोरम नेपाल र संघीय समाजवादी पार्टी उक्त छलफलमा सहभागी भएपनि मोहन बैद्य नेतृत्वको नेकपा माओवादी बैठकमा सहभागी भएन।


यसअघि निर्वाचन आयोगले मंगलवार चुनावी कार्यतालिका सार्वजनिक गरेको थियो।

बुधबारको छलफलमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले मंसीर चार गते चुनाव गराउन सतारुढ र असन्तुष्ट दलहरु दुवै लचिलो भएर सहमतिमा पुग्नुपर्ने धारणा राखेका थिए।