कांग्रेसले बाढी पहिरोबाट प्रभावितहरुका लागि विशेष राहत संकलन अभियान थाल्ने

काठमाडौं  । नेपाली कांग्रेसले बाढी पहिरोबाट प्रभावितहरुका लागि विशेष राहत संकलन अभियान थाल्ने भएको छ । यसका लागि कांग्रेसले आफ्ना सबै क्रियाशील सदस्यलाई कम्तिमा ५० रुपैयाँ बाढीपहिरो राहत कोषमा संकलन गर्न आह्वान गरेको छ ।

 

सभापति सुशील कोइरालाले हिजो विज्ञप्ति निकाली बाढीपीडितको राहत र पुनस्र्थापनमा जुट्न सबैमा अपील गरेका हुन् । उनले पार्टीमाआवद्ध सबै क्रियाशील सदस्यलाई कम्तिमा ५० रुपैयाँका दरले रकम सहयोग गर्न पनि अपील गरेका छन् ।

सभापति कोइरालाले पार्टीका कार्यकर्तालाई बाढी पहिरोबाट प्रभावितको उद्धार र राहतमा लाग्न निर्देशन पनि दिएका छन् । यसअघि हिजै कांग्रेसले सुदुरपश्चिमको बाढी प्रभावितको राहतका लागि विशेष प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएको थियो । पार्टी उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा गएको कांग्रेसको प्रतिनिधिमण्डलले बाढी पीडितको उद्धार, घाइतेको उपचार तथा मृतकका परिवारलाई विशेष प्योकज घोषणा गर्न र दार्जुलाको सदरमुकाम लगायतका प्रभावित स्थानको जिर्णोद्धाराका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।


 यसैगरी एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि मन्त्रीपरिषद अध्यक्ष रेग्मीसंग भेटी सुदुरपश्चिमका बाढी पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न सुझाव दिनुभयो । एमाले अध्यक्ष झलनाथ खनालले पनि हिजै मन्त्रिपरिषदका अध्यक्षलाई भेटेर दार्चुलाका बाढी पीडितलाई प्रतिब्यक्ति दुइ लाख रुपैयाँ उपलब्ध गराउन माग गरे ।

 

Agencies