काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबाट राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी बाहिरिने भएको समाचार कान्तिपुरमा प्रकासित गरिएको छ ।
महतोको अनुपस्थितिकै कारण शनिबारको मोर्चा बैठक स्थगित गरिएको थियो ।
उक्त समाचार अनुसार अबको वैठकबाट सद्भावना औपचारिक रुपमै बाहिरिने भएको हो ।
‘पार्टीको १३ जेठको कार्यसम्पादन समिति बैठकले मोर्चाको औचित्य समाप्त भएकाले बाहिरिने निर्णय गरिसकेको छ,’ सद्भावनाका एक नेताले भने । चार महिनापछि शनिबार तमलोपा कार्यालयमा बस्ने भनिएको मोर्चा बैठक महतो कलकत्तामा रहेको भन्दै स्थगित गरिएको थियो । उपचारार्थ कलकत्ता गएका महतो सोमबार फर्कँदैछन् ।
तमलोपा नेता सर्वेन्द्रनाथ शुक्लले ‘मिडियामा महतोले बोलेका अभिव्यक्तिबारे उनकै मुखबाट सुन्ने उद्देश्यले वैठक राखिए पनि उनी बाहिर भएकाले’ नआउन्जेलसम्म स्थगित गरिएको बताए । ‘उहाँका अभिव्यक्तिबारे सुनेर अघि बढ्ने सबै दलको चाहना हो,’ शुक्लले भने, ‘उनी मोर्चामा बस्ने/नबस्ने निर्क्योलपछि मोर्चाले आगामी रणनीति बनाउँछ ।’
बाबुराम भट्टराई नेतृत्वको सरकारबाट बाहिरिने बित्तिकै महतोले मधेस दौडाहाका क्रममा विभिन्न स्थानमा ‘मोर्चाको औचित्य समाप्त भएको, सत्ताका लागि मात्रै मोर्चा बनेको’ अभिव्यक्ति दिएका थिए । मोर्चाको कार्यशैलीप्रति आपत्ति जनाउँदै उनले त्यसमा नबस्नेसमेत बताएका थिए । उनले मोर्चाका नेताहरु महन्थ ठाकुर र विजयकुमार गच्छदारलाई मधेशका मुख्य दलाल र संघीयताको विरोधी भएको आरोपसमेत लगाएका थिए । सरकारबाट बाहिरिएपछि उनी एक्लैले १० बुँदेमागसहित अनशन बसेका थिए । १२ जेठमा सरकार र सद्भावनाबीच सम्झौता भएको थियो ।
मोर्चामा सद्भावनासहित मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, तमलोपा र तमलोपा नेपाल छन् । मोर्चामै रहेका तमलोपा नेपालका अध्यक्ष महेन्द्रराय यादबले भने मोर्चाबाहिरका मधेशी दललाई पनि मोर्चामा समेटेर अघि बढ्ने बताए ।